कीवर्डहरू -

१३ देखि १७ वर्ष उमेर समूहका लागि सुरक्षित च्याट जिपिटी ल्याउँदै ओपनएआई, यस्ता हुनेछन् सुविधा

१३ देखि १७ वर्ष उमेर समूहका लागि सुरक्षित च्याट जिपिटी ल्याउँदै ओपनएआई, यस्ता हुनेछन् सुविधा

काठमाडौं । ओपनएआईले १३ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई लक्षित गर्दै थप सुरक्षा सुविधासहितको ChatGPT for Teens ल्याएको छ । यसमा किशोर किशोरीलाई सुरक्षित राख्न विभिन्न सुरक्षा सुविधा तथा अभिभावकका लागि नियन्त्रणका विकल्पहरू समावेश गरिएको छ ।

किशोर किशोरीलाई पढाइमा सहयोग पुर्‍याउन यसमा Study Mode पनि समावेश गरिएको छ । यसले विद्यार्थीलाई सिधै उत्तर दिनुभन्दा आफैं सोच्न र समस्या समाधान गर्न प्रोत्साहित गर्ने उद्देश्य राखेको छ ।

ओपनएआईका अनुसार, Study Mode ले किशोर किशोरीलाई पढाइ बुझ्न सहयोग गर्न प्रश्न सोध्ने तथा चरणबद्ध रूपमा मार्गदर्शन गर्नेछ । यदि विद्यार्थीले कुनै विषय बुझ्नुभन्दा गृहकार्यको सिधा उत्तर खोजेर नक्कल गर्न खोजेको देखिएमा, च्याट जिपिटीले Study Mode प्रयोग गर्न सुझाव दिनेछ ।

यसमा क्विज, पढाइलाई सजिलोसँग बुझ्न सहयोग गर्ने दृश्य सामाग्री तथा अभिभावकले Study Mode स्वत: सक्रिय हुने समय निर्धारण गर्न सक्ने सुविधा पनि रहनेछ ।

ओपनएआईका अनुसार, ChatGPT for Teens मा उमेरअनुसारका सुरक्षा सुविधा स्वतः सक्रिय हुनेछन् । यसले किशोर किशोरीलाई हानिकारक वा उनीहरूको उमेरका लागि अनुपयुक्त सामाग्रीबाट जोगाउन मद्दत गर्नेछ ।

त्यस्तै, अभिभावकले Parental Controls मार्फत विभिन्न सेटिङ व्यवस्थापन गर्न, सुरक्षासम्बन्धी सूचना प्राप्त गर्न तथा Quiet Hours निर्धारण गर्न सक्नेछन् ।

ओपनएआईले Code AI सँगको सहकार्यमा किशोर किशोरीलाई एआई कसरी काम गर्छ र यसको सही तथा जिम्मेवार प्रयोग कसरी गर्ने भन्ने विषयमा सिकाउने योजना पनि अघि सारेको छ ।

यद्यपि, किशोर किशोरीले नयाँ सुरक्षा व्यवस्थालाई कति सहज रूपमा छल्न सक्छन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । नयाँ प्रणाली वास्तविक प्रयोगमा आएपछि मात्र यसको सुरक्षा र प्रभावकारिता कति छ भन्नेबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।