काठमाडौं । सहरमा बढ्दो अत्यधिक गर्मीको जोखिम पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) र स्याटेलाइट प्रविधिको प्रयोग गरेको नेपाली दिदीभाइको टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका उत्कृष्ट सात टोलीभित्र पर्न सफल भएको छ ।
‘हिट स्केप’ नामक टोलीले संयुक्त राष्ट्रसंघको ‘एआई फर गुड’ पहलअन्तर्गत आयोजना गरिएको आईटीयू एआई एन्ड स्पेस कम्प्युटिङ च्यालेन्ज २०२६ को ‘स्पेस इन्टेलिजेन्स फर रेजिलिएन्ट सिटिज’ ट्र्याकमा सातौं स्थानसहित कास्य पदक जितेको हो ।
टोलीमा १९ वर्षीय जेनिश बुढाथोकी र उनकी २६ वर्षीया दिदी जस्ना बुढाथोकी रहेका छन् । दुवै जना ललितपुरस्थित रातो बाङ्गला स्कूलका पूर्वविद्यार्थी हुन् ।
प्रतियोगितामा विश्वभरबाट पेशेवर तथा स्नातक तहका टोलीले सहभागिता जनाएका थिए । प्रारम्भिक चरणमा १०० भन्दा बढी आवेदन परेको प्रतियोगिताको अन्तिम मूल्यांकनमा ‘हिट स्केप’ले १०० मध्ये ९९.१५ को बायस रेटिङ हासिल गरेको थियो ।
टोलीले स्याटेलाइटबाट प्राप्त तस्बिरलाई प्रयोग गर्दै सहरी क्षेत्रको छिमेक तहसम्म भूमि सतहको तापक्रम अनुमान गर्ने प्रणाली विकास गरेको थियो । यसबाट अत्यधिक गर्मीको जोखिममा रहेका सहरी क्षेत्र पहिचान गर्न सकिने उद्देश्य राखिएको थियो ।
यस परियोजनामा भौतिकीमा आधारित मोडेलिङ र मेसिन लर्निङ प्रविधिलाई एकसाथ प्रयोग गरिएको थियो । जेनिशले प्रतियोगिताको प्रस्ताव चरणदेखि अन्तिम चरणसम्म टोलीको नेतृत्व गरेका थिए ।
हाईस्कूल पूरा गरेपछि कलेज जानुअघि उनले आफ्नो ग्याप इयरमा परियोजनामा काम गरेका हुन् । यसअघि ड्युक विश्वविद्यालयमा जलवायु डेटासेटसँग सम्बन्धित अनुसन्धानमा काम गरेको अनुभवले उनलाई परियोजनामा सहयोग पुगेको थियो ।
यता, जस्नाले परियोजनाको प्राविधिक तथा कोडिङ पक्ष सम्हाल्दै तापक्रम पूर्वानुमानलाई अझ सटीक बनाउन मेसिन लर्निङ मोडेल विकास गरेकी थिइन् । उनी हाल अमेजनमा सफ्टवेयर डेभलपमेन्ट इन्जिनियरका रूपमा कार्यरत छिन् ।
टोलीको यो उपलब्धिलाई जेनेभामा आयोजित एआई फर गुड ग्लोबल समिटमा सम्मान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेबापत टोलीले कास्य पदकसँगै नगद पुरस्कारसमेत प्राप्त गरेको छ ।
जेनिश भने यसै शरद ऋतुमा म्याकालेस्टर कलेजमा आफ्नो कलेज जीवन सुरु गर्दैछन् । हाईस्कूलपछि ग्याप इयरमा विकसित गरेको अनुसन्धान अनुभवलाई अन्तर्राष्ट्रिय एआई प्रतियोगितासम्म पुर्याउँदै नेपाली दिदीभाइले प्रविधि र जलवायु समस्याको समाधानबीचको सम्भावित सम्बन्धलाई समेत प्रस्तुत गरेका छन् ।
आईसीटी समाचार