काठमाडौं । नेपाली भाषाको उद्गमस्थलका रूपमा परिचित जुम्लाको हाट सिँजा क्षेत्रमा नेपाल टेलिकमले फोर-जी मोबाइल सेवा विस्तार गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजारमा नयाँ मोबाइल टावर सञ्चालनमा आएसँगै उक्त क्षेत्रका विभिन्न स्थानमा उच्चगतिको मोबाइल इन्टरनेट सेवा उपलब्ध भएको हो ।
नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख पारस पुजाराका अनुसार नयाँ टावरमार्फत कनकासुन्दरी गाउँपालिकाका वडा नं. ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर-जी सेवा पुग्नेछ ।
टेलिकमका अनुसार गुठीज्युला बजारसहित गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गाललगायतका क्षेत्रमा सेवा विस्तार भएको छ ।
टावर स्थापना भएको दुई महिनाभन्दा बढी समय बितिसके पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपलब्ध हुन नसक्दा सेवा सञ्चालनमा ढिलाइ भएको थियो। विद्युत् आपूर्तिको समस्या तत्काल समाधान नभएपछि टेलिकमले सोलार ब्याट्रीको वैकल्पिक व्यवस्थामार्फत टावर सञ्चालनमा ल्याएको हो ।
दुर्गम क्षेत्रसँगै पर्यटकीय तथा उच्च हिमाली क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्ने सरकारी योजनाअनुसार टेलिकमले पछिल्लो समय मोबाइल सेवा विस्तारलाई तीव्रता दिएको छ ।
बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा पनि यसै हप्ताभित्र फोर-जी सेवा सञ्चालन गर्ने तयारी रहेको टेलिकमले जनाएको छ । सगरमाथा आधार शिविर क्षेत्रमा फोर-जी विस्तारका लागि अध्ययन भइरहेको छ ।
यसअघि डोल्पाको समुद्री सतहबाट करिब ३ हजार ९ सय मिटर उचाइमा रहेको ल्हान र दुनै तथा ताप्लेजुङको करिब ३ हजार ४ सय मिटर उचाइमा रहेको ओलाङचुङगोलामा समेत फोर-जी सेवा विस्तार भइसकेको छ ।
नेपाल टेलिकमले सञ्चार पहुँच कमजोर रहेका अन्य ग्रामीण तथा दुर्गम क्षेत्रमा पनि सेवा विस्तारलाई प्राथमिकता दिएको जनाएको छ । डिजिटल विभाजन घटाउने र गुणस्तरीय दूरसञ्चार सेवामा नागरिकको पहुँच बढाउने उद्देश्यले देशभर नयाँ मोबाइल टावर तथा सम्बन्धित पूर्वाधार निर्माण अघि बढाइएको छ ।
टेलिकमका अनुसार देशभर करिब १ हजार ६ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढेको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षमा नेपाल टेलिकमले ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।
आईसीटी समाचार