काठमाडौं । कर्जा लिन बैंकको शाखामा पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता घटाउँदै एनएमबी बैंकले डिजिटल माध्यमबाटै कर्जा आवेदन दिन र त्यसको प्रगति हेर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो डिजिटल बैंकिङ सेवाको विस्तारअन्तर्गत अनलाइन लोन एप्लिकेसन तथा ट्र्याकिङ प्रणाली सुरु गरेको हो । नयाँ प्रणालीमार्फत ग्राहकले आफूलाई सहज हुने स्थान र उपकरणबाट कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
डिजिटल पोर्टलमा आवेदन बुझाएपछि ग्राहकले तत्काल लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन् । उक्त आईडीमार्फत कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनमै हेर्न सकिने बैंकले जनाएको छ ।
कसरी दिने अनलाइन कर्जा आवेदन ?
अनलाइनमार्फत कर्जा आवेदन दिन ग्राहकले बैंकको डिजिटल पोर्टलमा प्रवेश गरी ‘लोन सर्भिस’मा जानुपर्नेछ । त्यसपछि ‘एक्सप्लोर प्रोडक्ट’ विकल्पबाट आफूलाई आवश्यक कर्जाको प्रकार छनोट गरी माग गरिएका विवरण भर्नुपर्नेछ ।
फारम बुझाएपछि प्राप्त हुने ट्र्याकिङ आईडी सुरक्षित राखेर ग्राहकले आफ्नो आवेदनको स्थिति अनलाइनबाटै जाँच गर्न सक्नेछन् ।
बैंकका अनुसार नयाँ प्रणालीले कर्जा प्रक्रियालाई छिटो, पारदर्शी र सहज बनाउनेछ । ग्राहकको शाखा भ्रमण तथा कागजी प्रक्रियामा लाग्ने समय घटाउनुका साथै डिजिटल प्रक्रियाले कागजको प्रयोग समेत कम गर्ने बैंकको अपेक्षा छ ।
एनएमबी बैंकले पछिल्लो समय बैंकिङ सेवालाई थप डिजिटल र कागजरहित बनाउने रणनीतिअनुसार प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै आएको जनाएको छ । अनलाइन कर्जा प्रणाली पनि ग्राहकलाई छिटो र सहज बैंकिङ अनुभव दिने प्रयासकै हिस्सा भएको बैंकको भनाइ छ ।
बैंकका अनुसार हाल एनएमबी बैंकले देशभर १९७ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
आईसीटी समाचार