काठमाडौं । चीनको लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म बिलिबिलीले अब आफ्नो ध्यान घरेलु बजारबाट बाहिर केन्द्रित गर्न थालेको छ । कम्पनीले अन्तर्राष्ट्रिय प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरलाई लक्षित गर्दै सेवा विस्तारको तयारी अघि बढाएको हो ।
विश्व बजारमा प्रवेश गर्ने रणनीतिअन्तर्गत बिलिबिलीले यसै साता आफ्नो बन्द गरिएको अन्तर्राष्ट्रिय एप पुन: सञ्चालनमा ल्याएको छ । कम्पनीले अंग्रेजी भाषाको वेबसाइट सार्वजनिक गर्ने तयारी समेत गरिरहेको छ भने अमेरिका, जापान र युरोपका प्रमुख बजारमा जनशक्ति थप्ने योजना बनाएको छ ।
चिनियाँ बजारमा भने बिलिबिलीको उपस्थिति बलियो छ । कम्पनीको मुख्य प्लेटफर्ममा हाल मासिक ३७ करोड ६० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको बताइएको छ । यही ठूलो प्रयोगकर्ता आधारलाई अन्तर्राष्ट्रिय कन्टेन्टसँग जोड्दै कम्पनीले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको देखिन्छ ।
विदेशी क्रिएटरलाई आकर्षित गर्ने रणनीति
बिलिबिलीले अन्तर्राष्ट्रिय विस्तारका लागि केवल प्रयोगकर्ता बढाउनेभन्दा पनि विदेशी कन्टेन्ट क्रिएटरलाई आफ्नो प्लेटफर्ममा ल्याउने रणनीति अघि सारेको छ । कम्पनीले पश्चिमी मुलुकका चर्चित सेलिब्रिटी तथा युट्युबरलाई चिनियाँ प्लेटफर्ममा सामाग्री प्रकाशित गर्न प्रोत्साहित गर्दै आएको छ ।
विश्वप्रसिद्ध युट्युबर मिस्टरबिस्टलाई समेत प्लेटफर्ममा ल्याउन बिलिबिलीले प्रयास गरिरहेको बताइएको छ । क्रिएटरका लागि आम्दानीको अवसर सिर्जना गर्न कम्पनीले ब्रान्ड र इन्फ्लुएन्सरबीच सहकार्य गराउने छुट्टै बजार प्रणाली विकास गरिरहेको छ ।
हालै क्रिएटरहरूको डिस्कोर्ड समूहमा सार्वजनिक गरिएको प्रस्तुतीकरणमा बिलिबिलीले आफ्नो प्लेटफर्मलाई नयाँ पुस्ताका, उच्च शिक्षित र खर्च गर्न सक्ने प्रयोगकर्तासँग क्रिएटरलाई जोड्ने माध्यमका रूपमा प्रस्तुत गरेको थियो ।
अंग्रेजी संस्करणमा जोड
अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई लक्षित गर्दै बिलिबिलीले अंग्रेजी भाषाको वेबसाइट ल्याउने तयारीलाई प्राथमिकता दिएको छ । कम्पनीले क्रिएटरहरूलाई चिनियाँ संस्करणमा सामग्री अपलोड गर्ने प्रक्रियाबारे जानकारी दिँदै अंग्रेजी संस्करणका लागि काम तीव्र रूपमा भइरहेको जनाएको छ ।
यस्तै, पुन: सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय एपमा प्रयोगकर्ताका लागि पहिलेको जस्तो कडा पहिचान प्रमाणीकरण हटाइएको छ । अब पासपोर्ट वा अन्य परिचयपत्र उपलब्ध नगराई पनि खाता खोल्न सकिने व्यवस्था गरिएको छ ।
विश्वका प्रमुख सहरमा जनशक्ति विस्तार
बिलिबिलीले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति बलियो बनाउन विभिन्न देशमा स्थानीय टोली निर्माण गर्न थालेको छ । कम्पनीले लस एन्जलस, लन्डन, मेक्सिको सिटी, साओ पाउलो, इस्तानबुल र टोकियो लगायतका सहरमा कम्युनिटी म्यानेजरका लागि कर्मचारी खोजिरहेको छ ।
त्यसैगरी, सिंगापुरमा सार्वजनिक गरिएको रोजगारीसम्बन्धी विवरणअनुसार कम्पनीले विश्वव्यापी प्रयोगका लागि एआईमा आधारित कन्टेन्ट मोडरेसन प्रणाली विकास गर्ने तयारी समेत गरिरहेको छ ।
युट्युबसँग प्रतिस्पर्धा सहज भने छैन
बिलिबिलीको अन्तर्राष्ट्रिय विस्तारले विश्वव्यापी भिडियो प्लेटफर्म बजारमा नयाँ प्रतिस्पर्धा थप्न सक्ने देखिन्छ । चीनमा स्थापित ठूलो प्रयोगकर्ता आधार, क्रिएटर केन्द्रित रणनीति र एआई प्रविधिमा भइरहेको लगानीले कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न आधार दिएको छ ।
तर विश्व बजारमा विस्तार हुँदा बिलिबिलीले सामाग्री नियमन, सेन्सरशिप, प्रयोगकर्ता डेटा सुरक्षा र विभिन्न देशका कानुनी व्यवस्थाजस्ता चुनौती सामना गर्नुपर्नेछ । विशेष गरी अमेरिकी बजारमा चिनियाँ प्रविधि कम्पनीहरूप्रति रहेको नियामकीय चासोका कारण कम्पनीको अन्तर्राष्ट्रिय विस्तार सहज नहुन सक्छ ।
चिनियाँ बजारमा आफ्नो बलियो स्थान बनाइसकेको बिलिबिलीले अब विदेशी क्रिएटर, अंग्रेजी भाषाको सामाग्री र स्थानीय टोलीमार्फत विश्व बजारमा प्रवेशको आधार तयार गरिरहेको छ । सफल भएमा यसले विश्वव्यापी भिडियो स्ट्रिमिङ बजारमा युट्युबको प्रभुत्वलाई चुनौती दिने नयाँ प्रतिस्पर्धीका रूपमा आफूलाई स्थापित गर्न सक्नेछ ।
आईसीटी समाचार