कीवर्डहरू -

सरकारी सफ्टवेयरमा ‘एकद्वार’ प्रणाली : विकासदेखि प्राविधिक सहयोगसम्म

सरकारी सफ्टवेयरमा ‘एकद्वार’ प्रणाली : विकासदेखि प्राविधिक सहयोगसम्म

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा मर्मतसम्भारका लागि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ ।

मन्त्रिपरिषद्को भदौ ३ गतेको बैठकले ‘सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३’ स्वीकृत गरेसँगै केन्द्र स्थापनाको बाटो खुलेको हो ।

केन्द्रले सरकारी निकायका लागि आवश्यक सफ्टवेयर विकास गर्ने, पुराना प्रणालीको स्तरोन्नति तथा मर्मतसम्भार गर्ने र चौबीसै घण्टा प्राविधिक सहायता उपलब्ध गराउनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति रहनेछ । केन्द्रको प्रशासकीय नेतृत्व कार्यकारी निर्देशकले गर्नेछन् भने केन्द्रमा ३० जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।

केन्द्रले सरकारी सफ्टवेयर निर्माणमा सुरक्षा मापदण्ड, उच्च उपलब्धता तथा अन्तर्राष्ट्रिय प्रविधि मापदण्ड लागू गर्नेछ । यसबाट सार्वजनिक सेवा प्रवाहलाई थप प्रविधिमैत्री, सुरक्षित र प्रभावकारी बनाउने सरकारको लक्ष्य छ ।