कीवर्डहरू -

एआई सब्सक्राइबरका लागि गुगलको नयाँ लुक, प्रोफाइल फोटोमा निलो ग्रेडियन्ट रिङ

एआई सब्सक्राइबरका लागि गुगलको नयाँ लुक, प्रोफाइल फोटोमा निलो ग्रेडियन्ट रिङ

काठमाडौं । गुगलले आफ्ना स:शुल्क गुगल एआई तथा गुगल वन प्रयोगकर्ताका लागि प्रोफाइल फोटोको नयाँ डिजाइन सार्वजनिक गर्न थालेको छ । एन्ड्रोइड र वेबमा उपलब्ध हुन थालेको यो नयाँ अपडेटमा प्रयोगकर्ताको प्रोफाइल फोटो वरिपरि निलो ग्रेडियन्ट रिङ देखिन थालेको छ ।

यसअघि गुगल वन प्रयोगकर्ताको प्रोफाइल फोटो वरिपरि रातो, निलो, हरियो र पहेँलो गरी चार रङको रिङ देखिन्थ्यो । नयाँ निलो ग्रेडियन्ट रिङ भने गुगलको जेमिनाई एआईसँग सम्बन्धित नयाँ डिजाइनसँग मेल खाने गरी ल्याइएको देखिन्छ ।

गुगल एआई प्लस, प्रो र अल्ट्रा सदस्यहरूको प्रोफाइल फोटोमा नयाँ निलो ग्रेडियन्ट घेरा देखिन थालेको छ । यद्यपि, यो सुविधा हाल सीमित संख्याका प्रयोगकर्ताका लागि मात्र उपलब्ध भएको बताइएको छ । गुगलले क्रमश: अन्य प्रयोगकर्तामाझ पनि यो डिजाइन विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नयाँ निलो रिङ जेमिनाईको आइकनसँग मिल्दोजुल्दो देखिन्छ । प्रोफाइल फोटोमा ट्याप गर्दा पहिलेभन्दा छरितो र व्यवस्थित फुल-स्क्रिन मेनु पनि देखिन थालेको छ । यसमा इमेल ठेगाना, प्रोफाइल फोटो र नाम एउटै कार्डमा देखिन्छन् । सोही स्थानमा प्रयोगकर्ताको सदस्यताको स्तर पनि देखाइन्छ ।

त्यसैगरी, अकाउन्ट परिवर्तन गर्ने विकल्प पनि यही मेनुमा राखिएको छ । तल ‘Manage Your Google Account’ र त्यसपछि ‘Upgrade to Google AI Ultra’ विकल्प देखिन्छ ।

रिपोर्टअनुसार, गुगलले प्रोफाइल फोटोमा देखिने निलो ग्रेडियन्ट रिङलाई डिभाइसअनुसार क्रमश: विस्तार गरिरहेको छ । फोन वा ट्याब्लेटमा यो सुविधा उपलब्ध भएमा सपोर्ट गर्ने एपहरूमा पनि एकैपटक देखिन सक्छ । यद्यपि, सबै एपले अहिलेसम्म यो नयाँ डिजाइनलाई समर्थन गरेका छैनन् ।

वेब संस्करणमा पनि यो अपडेट विस्तार भइरहेको छ । तर हालसम्म यो सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध रहेको बताइएको छ ।