कीवर्डहरू -

एआई सिक्न चाहनेका लागि एन्थ्रोपिकको नि:शुल्क ‘क्लाउड एकेडेमी’, करिब २० कोर्स उपलब्ध

एआई सिक्न चाहनेका लागि एन्थ्रोपिकको नि:शुल्क ‘क्लाउड एकेडेमी’, करिब २० कोर्स उपलब्ध

काठमाडौं । एआईको प्रयोगलाई अझ प्रभावकारी बनाउन चाहने प्रयोगकर्तालाई लक्षित गर्दै एआई कम्पनी एन्थ्रोपिकले आफ्नो नि:शुल्क अनलाइन सिकाइ प्लेटफर्म ‘क्लाउड एकेडेमी’ सार्वजनिक गरेको छ । प्लेटफर्ममार्फत एन्थ्रोपिकको एआई असिस्टेन्ट ‘क्लाउड’लाई सामान्य च्याटबटको रूपमा मात्र नभई विभिन्न काममा प्रयोग गर्ने तरिका सिक्न सकिनेछ ।

एआई प्रयोगमा नयाँ प्रयोगकर्ता, डेभलपर तथा व्यावसायिक प्रयोगकर्तालाई लक्षित गरिएको एकेडेमीमा क्लाउडका आधारभूत प्रयोगदेखि उन्नत एआई एजेन्ट निर्माण तथा प्रयोगसम्मका विषय समेटिएका छन् । सबै पाठ्यक्रम अंग्रेजी भाषामा उपलब्ध छन् ।

प्रयोगात्मक सिकाइदेखि एआई एजेन्टसम्म
क्लाउड एकेडेमीमा प्रयोगकर्ताको आवश्यकताअनुसार विभिन्न विषयमा छुट्टाछुट्टै पाठ्यक्रम राखिएका छन् । क्लाउड डट एआई, क्लाउड कोवर्क, क्लाउड कोड, क्लाउड ट्याग र क्लाउड प्लेटफर्मको प्रयोगसम्बन्धी सामाग्री यसमा समावेश छन् ।

सुरुवाती प्रयोगकर्ताले प्रभावकारी प्रम्प्ट लेख्ने, एआईसँग सही प्रश्न गर्ने तथा परियोजना व्यवस्थित गर्ने तरिका सिक्न सक्छन् । त्यस्तै, अनुभवी प्रयोगकर्ताका लागि क्लाउड कोड, एपीआई तथा एआई एजेन्टसँग सम्बन्धित प्राविधिक सामग्री उपलब्ध छन् ।

केही पाठ्यक्रममा प्रयोगात्मक अभ्यास समेत राखिएको छ । त्यसैले प्रयोगकर्ताले सैद्धान्तिक जानकारी पढेर मात्र नभई वास्तविक काम गर्दै सिक्ने अवसर पाउनेछन् ।

पाठ्यक्रम पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । प्रयोगकर्ताले आफ्नो सिकाइको प्रगति सुरक्षित राख्न लग–इन गर्नुपर्ने हुन्छ । लग–इन नगरी अध्ययन गर्दा प्रगति सुरक्षित रहने छैन ।

‘एआई फ्लुएन्सी’ पनि पाठ्यक्रममा
एकेडेमीमा प्रोफेसर जोसेफ फेलर र रिक डाकनसँगको सहकार्यमा तयार गरिएको ‘एआई फ्लुएन्सी’ पाठ्यक्रम समेत समावेश गरिएको छ । यसमा एआईसँग प्रभावकारी रूपमा काम गर्न ‘फोर डी फ्रेमवर्क’ अर्थात् डेलिगेसन, डिस्क्रिप्सन, डिस्क्रिमिनेसन र डिलिजेन्सको अवधारणा सिकाइन्छ ।

यसले प्रयोगकर्तालाई एआईबाट उत्तर मात्र लिनेभन्दा पनि उपयुक्त काम एआईलाई जिम्मा दिने, निर्देशन स्पष्ट बनाउने, प्राप्त परिणामको मूल्याङ्कन गर्ने र आवश्यक सावधानी अपनाउने सीप विकास गर्न सहयोग गर्ने उद्देश्य राखेको छ ।

क्लाउडलाई काममा प्रयोग गर्ने लक्ष्य
एन्थ्रोपिकका अनुसार एआई उपकरण शक्तिशाली बन्दै गए पनि धेरै प्रयोगकर्ता अझै पनि विभिन्न अनधिकृत ट्युटोरियल वा आफ्नै परीक्षणका आधारमा यसको प्रयोग सिकिरहेका छन् । यही अवस्थालाई ध्यानमा राखेर क्लाउडसम्बन्धी आधिकारिक र व्यवस्थित सिकाइ सामाग्री एउटै प्लेटफर्ममा उपलब्ध गराइएको हो ।

क्लाउडलाई कार्यालयका काम, अनुसन्धान, प्रोग्रामिङ तथा अन्य जटिल कार्यमा प्रयोग गर्ने क्रम बढिरहेका बेला एकेडेमीले प्रयोगकर्तालाई एआईको क्षमतालाई व्यवहारिक रूपमा उपयोग गर्न सिकाउने अपेक्षा गरिएको छ ।

क्लाउड ट्यागमार्फत टिमहरूले स्ल्याकजस्ता कार्यस्थलका उपकरणसँग क्लाउडलाई जोडेर साझा तथ्याङ्क तथा अन्य उपकरणमा काम गर्न सक्ने भएकाले एआईलाई व्यक्तिगत च्याटबटभन्दा अगाडि बढाएर कार्यसहायकका रूपमा प्रयोग गर्ने विषयमा पनि पाठ्यक्रम केन्द्रित छ ।

त्यस्तै, डेभलपरका लागि क्लाउड कोड तथा एपीआई प्रयोग, र व्यवसायका लागि एजेन्टमा आधारित सुविधा विकास गर्ने विषय पनि समेटिएको छ । यसबाट प्रयोगकर्ताले एआईसँग कुराकानी गर्ने मात्र नभई निश्चित काम नै एआईलाई जिम्मा दिएर परिणाम प्राप्त गर्ने तरिका सिक्न सक्नेछन् ।

यसअघि नै सुरु भएको थियो एन्थ्रोपिक एकेडेमी
एन्थ्रोपिकले यसअघि मार्च २०२६ मा १३ वटा नि:शुल्क कोर्ससहित ‘एन्थ्रोपिक एकेडेमी’ सुरु गरेको थियो । ती पाठ्यक्रम स्किलजार प्लेटफर्ममा होस्ट गरिएका थिए ।

अगस्ट २१ मा गरिएको पछिल्लो विस्तारसँगै पाठ्यक्रमको संख्या करिब २० पुर्‍याइएको छ र यसलाई ‘क्लाउड एकेडेमी’ नामबाट थप व्यवस्थित रूपमा प्रस्तुत गरिएको देखिन्छ ।

नयाँ प्लेटफर्ममार्फत एन्थ्रोपिकले क्लाउड प्रयोगकर्ताको संख्या मात्र बढाउने नभई उनीहरूलाई एआईको उन्नत क्षमता प्रयोग गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।