कीवर्डहरू -

AI4PEN अन्तर्गत शिक्षकहरूका लागि AI साक्षरता तालिमको शुभारम्भ

AI4PEN अन्तर्गत शिक्षकहरूका लागि AI साक्षरता तालिमको शुभारम्भ

ललितपुर । सार्वजनिक विद्यालयका शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) सम्बन्धी ज्ञान, सीप तथा यसको शैक्षिक क्षेत्रमा प्रभावकारी, जिम्मेवार र सिर्जनात्मक प्रयोगका लागि सक्षम बनाउने उद्देश्यले AI4PEN – Artificial Intelligence for Public Education in Nepal पहलअन्तर्गत शुक्रबार किटिनी माध्यमिक विद्यालय, गोदावरी, ललितपुरमा AI साक्षरता शिक्षक तालिम कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ ।

रोटरी क्लब अफ यलले शिक्षा क्षेत्रमा आफ्नो निरन्तर सहभागिता र प्रतिबद्धतालाई अगाडि बढाउँदै यसअघि ३० वटा विद्यालयमा Teaching at the Right Level (TaRL) कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको छ ।

त्यसैगरी, किटिनी माध्यमिक विद्यालयको सहकार्यमा Robotics Education कार्यक्रम पनि निरन्तर सञ्चालन हुँदै आएको छ । यी पहलहरूले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षा तथा विद्यार्थीहरूको सीप विकासमा योगदान पुर्‍याउँदै आएका छन् ।

AI4PEN पहल रोटरी क्लब अफ यल र Danson Solutions को संयुक्त प्रयासमा किटिनी माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालन भइरहेको हो । सार्वजनिक विद्यालयमा AI प्रविधिको पहुँच र प्रयोग विस्तार गर्दै शिक्षकहरूलाई तीव्र रूपमा परिवर्तन भइरहेको डिजिटल तथा AI-आधारित शैक्षिक वातावरणका लागि तयार पार्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

१० हप्ते शिक्षक तालिम
AI4PEN अन्तर्गतको यस पाइलट कार्यक्रमका लागि २५ जना शिक्षक सहभागी हुनेछन् । ७ भदौ २०८३ (२३ अगस्ट २०२६) देखि सुरु हुने तालिम १० हप्तासम्म, कुल ४० घण्टा सञ्चालन हुनेछ । तालिम प्रत्येक आइतबार सञ्चालन गरिनेछ ।

तालिममा शिक्षण–सिकाइ प्रक्रियामा AI को व्यावहारिक प्रयोग, पाठ योजना निर्माण, शिक्षण तथा सिकाइ सामग्री विकास, उत्पादकत्व अभिवृद्धिका AI उपकरणहरूको प्रयोग, AI को सुरक्षित, नैतिक तथा जिम्मेवार प्रयोग, साथै शिक्षामा AI बाट सिर्जित अवसर र चुनौतीहरूका विषयमा प्रशिक्षण दिइनेछ ।

यस कार्यक्रममार्फत शिक्षकहरूलाई AI प्रविधिसँग व्यावहारिक रूपमा परिचित गराई उनीहरूको शिक्षण क्षमता तथा उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । साथै, यसलाई भविष्यमा नेपालका अन्य सार्वजनिक विद्यालयहरूमा AI साक्षरता विस्तारका लागि नमुना कार्यक्रमका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

शुभारम्भ कार्यक्रममा प्रतिनिधिहरूको सहभागिता
शुभारम्भ कार्यक्रममा किटिनी माध्यमिक विद्यालयका सञ्चालक, प्रधानाध्यापक तथा पूर्व प्रधानाध्यापक, शिक्षकहरू, रोटरी क्लब अफ यलका अध्यक्ष तथा सदस्यहरू, Danson Solutions का प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सार्वजनिक विद्यालयका शिक्षकहरूलाई नयाँ प्रविधिसँग परिचित गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता तथा AI लाई शिक्षण–सिकाइ प्रक्रियामा जिम्मेवार, प्रभावकारी र सिर्जनात्मक रूपमा प्रयोग गर्नुपर्ने विषयमा जोड दिइयो ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ यलका अध्यक्ष रो. दीपक दास ताम्राकारले AI4PEN पहलबाट हासिल हुने अपेक्षित उपलब्धिहरूबारे प्रकाश पार्दै शिक्षाको विकासमा रोटरी क्लबको निरन्तर प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले रोटरी क्लब अफ यलले सञ्चालन गर्दै आएका TaRL (Teaching at the Right Level) तथा Robotics Education लगायतका शैक्षिक पहलहरूमा क्लबको निरन्तर सहभागितालाई समेत जोड दिनुभयो ।

त्यसैगरी, AI4PEN पहलका संयोजक रो. बसन्त श्रेष्ठले यस पहलको पृष्ठभूमि, परिकल्पना तथा प्रारम्भिक योजनाबारे जानकारी गराउँदै यसको आगामी दिशा र सार्वजनिक विद्यालयहरूमा AI साक्षरता तथा शिक्षकहरूको क्षमता अभिवृद्धिलाई व्यापक रूपमा विस्तार गर्ने सम्भावनाबारे प्रकाश पार्नुभयो ।

उहाँले “Rotary for AI Literacy – Creating Lasting Impact” को भूमिकालाई जोड दिँदै सार्वजनिक विद्यालयहरूको शैक्षिक रूपान्तरणका लागि सबै पक्षको समन्वित र निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, किटिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले विद्यालयले AI प्रविधिको प्रयोग र प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षण–सिकाइ प्रक्रियामा AI को प्रभावकारी प्रयोगले शिक्षकहरूको कार्यक्षमता, उत्पादकत्व तथा शिक्षणको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

संयुक्त समझदारीपत्रमा हस्ताक्षर
कार्यक्रमका क्रममा किटिनी माध्यमिक विद्यालय, रोटरी क्लब अफ यल र Danson Solutions बीच AI4PEN कार्यक्रमको सहकार्य, कार्यान्वयन तथा आगामी विकासका लागि संयुक्त समझदारीपत्र (Memorandum of Understanding – MoU) मा समेत हस्ताक्षर गरिएको छ ।

AI4PEN मार्फत रोटरी क्लब अफ यलले शिक्षा, डिजिटल समावेशिता, प्रविधि तथा नवप्रवर्तनका माध्यमबाट समुदाय सशक्तीकरण गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको छ । यस पहलले नेपालका सार्वजनिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई AI-आधारित भविष्यका लागि तयार पार्न तथा सार्वजनिक शिक्षामा प्रविधिको प्रभावकारी प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।