काठमाडौं । वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन विद्यार्थीलाई अनावश्यक रूपमा कार्यालय धाउन लगाउने र गलत सूचना दिने शैक्षिक परामर्श संस्थामाथि सरकारले कारबाही गर्ने भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले सूचना जारी गर्दै एनओसीका लागि आवेदनदेखि प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियासम्म डिजिटल माध्यमबाटै हुने स्पष्ट पारेको छ । मन्त्रालयले सेवा प्रक्रियालाई थप व्यवस्थित र पूर्ण रूपमा अनलाइन बनाउन काम भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार केही शैक्षिक परामर्श संस्थाले विद्यार्थीलाई एनओसी लिन आफैं कार्यालयमा उपस्थित हुनुपर्ने भन्दै भ्रमपूर्ण सूचना दिने गरेका छन् । यस्ता संस्थाले आवश्यकताबिनै सेवाग्राहीलाई मन्त्रालयसम्म पठाउने गरेको गुनासो आएपछि मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
सबै विद्यार्थी कार्यालय जानुपर्छ भन्ने छैन
मन्त्रालयले एनओसीका लागि आवेदन दिन विद्यार्थीले अनिवार्य रूपमा भौतिक उपस्थित हुनुपर्ने व्यवस्था नरहेको जनाएको छ । विशेष गरी आवेदनमा उल्लेख गरिएको नागरिकता र शैक्षिक योग्यताको विवरण केन्द्रीय सूचना व्यवस्थापन प्रणालीमा मिलान भई जन्ममिति समेत सफलतापूर्वक भेरिफाइ भएका विद्यार्थीले कार्यालयमा उपस्थित नभई डिजिटल प्रक्रियाबाटै एनओसी प्राप्त गर्न सक्नेछन् ।
तर सबै विद्यार्थीको हकमा भने एउटै प्रक्रिया लागू नहुन सक्छ । भौतिक उपस्थितिको आवश्यकता पर्ने वा नपर्ने सम्बन्धी जानकारी एनओसी पोर्टलमै उपलब्ध हुने मन्त्रालयले स्पष्ट पारेको छ । त्यसैले शैक्षिक परामर्श संस्थाहरूले विद्यार्थीलाई पोर्टलमा देखिएको विवरण र प्रक्रियाअनुसार मात्रै जानकारी दिनुपर्ने मन्त्रालयको भनाइ छ ।
गलत सूचना दिए कडा कारबाही
एनओसीका नाममा विद्यार्थीलाई भ्रममा पार्ने, अनावश्यक रूपमा सरकारी कार्यालय पठाउने वा अन्य गैरकानुनी गतिविधि गर्ने संस्थालाई मन्त्रालयले त्यस्ता काम तत्काल रोक्न चेतावनी दिएको छ । गलत सूचना फैलाएर सेवाग्राहीबाट अनुचित लाभ लिन खोज्ने तथा प्रक्रियामा अनियमितता गर्ने शैक्षिक परामर्श संस्थामाथि नियामक अनुगमनसँगै कानुनी कारबाही समेत अघि बढाइने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विद्यार्थीलाई एनओसीसम्बन्धी जानकारीका लागि शैक्षिक परामर्श संस्थाको भनाइमा मात्र निर्भर नहुन आग्रह गरेको छ । आधिकारिक प्रक्रिया, आवश्यक कागजात तथा भौतिक उपस्थितिसम्बन्धी जानकारीका लागि मन्त्रालयको एनओसी पोर्टलमा उपलब्ध विवरण र प्रयोगकर्ता पुस्तिका हेर्न मन्त्रालयले अनुरोध गरेको छ । थप जिज्ञासा भए सम्बन्धित शाखामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
आईसीटी समाचार