कीवर्डहरू -

टेस्लाले ल्याउँदैछ चालकविहीन साइबरक्याब, यस्तो हुनेछ रोबोट्याक्सी

टेस्लाले ल्याउँदैछ चालकविहीन साइबरक्याब, यस्तो हुनेछ रोबोट्याक्सी

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो बहुप्रतीक्षित ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको छ । मिडिया रिपोर्टअनुसार कम्पनीले आगामी सेप्टेम्बर ३ मा अमेरिकाको टेक्सासस्थित अस्टिनमा विशेष कार्यक्रम आयोजना गरी साइबरक्याब सार्वजनिक गर्ने तयारी गरेको हो ।

टेस्लाकेन्द्रित समाचार संस्था ‘टेस्लाराटी’ले प्राप्त गरेको कार्यक्रमसम्बन्धी निमन्त्रणालाई उद्धृत गर्दै उक्त कार्यक्रम टेस्लाको मुख्यालय रहेको अस्टिनमै हुने जनाएको छ । यद्यपि, टेस्लाले अहिलेसम्म कार्यक्रमको मिति र आयोजनाबारे औपचारिक घोषणा गरिसकेको छैन ।

स्टेयरिङ र पेडलविहीन सवारी
साइबरक्याबलाई टेस्लाले पूर्ण रूपमा स्वायत्त यात्रु सेवाका लागि विकास गरिरहेको छ । परम्परागत कारभन्दा फरक यसमा स्टेयरिङ ह्वील र एक्सेलेरेटर तथा ब्रेक पेडल राखिएको छैन ।

सवारी सञ्चालनका लागि टेस्लाको सेल्फ ड्राइभिङ सफ्टवेयर तथा एआई प्रविधिमा निर्भर रहने गरी यसको डिजाइन गरिएको छ । कम्पनीको उद्देश्य चालकबिना यात्रु ओसारपसार गर्न सक्ने रोबोट्याक्सी प्रणाली विकास गर्नु हो ।

सन् २०२४ को अक्टोबरमा पहिलोपटक सार्वजनिक गरिएको साइबरक्याबलाई टेस्लाले आफ्नो स्वायत्त सवारी रणनीतिको महत्वपूर्ण हिस्सा बनाएको छ ।

३० हजार डलरभन्दा कममा बिक्री गर्ने योजना
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले साइबरक्याबलाई भविष्यमा निजी ग्राहकलाई पनि बिक्री गर्ने योजना रहेको बताएका छन् । उनका अनुसार यसको मूल्य ३० हजार अमेरिकी डलरभन्दा कम राख्ने लक्ष्य छ ।

कम्पनीले साइबरक्याबलाई ‘मोडल वाई’ लगायतका सवारीसँग जोडेर स्वायत्त यात्रु सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।

पहिले कर्मचारीबाट परीक्षण
टेस्लाले रोबोट्याक्सी प्रविधि विकाससँगै वास्तविक सडकमा यसको परीक्षण पनि गरिरहेको छ । ‘मोडल वाई’का केही सवारीमार्फत एक वर्षभन्दा बढी समयदेखि स्वायत्त यात्रु सेवा परीक्षण भइरहेको रिपोर्टहरूमा उल्लेख छ ।

प्रविधि प्रकाशन ‘द इन्फर्मेशन’का अनुसार टेस्लाले सर्वसाधारणका लागि व्यावसायिक रोबोट्याक्सी सेवा सुरु गर्नुअघि साइबरक्याबमार्फत आफ्ना कर्मचारीलाई सार्वजनिक सडकमा यात्रु सेवा उपलब्ध गराउने योजना बनाएको छ ।

एआई रणनीतिको केन्द्रमा रोबोट्याक्सी
टेस्लाका लागि साइबरक्याब केवल नयाँ विद्युतीय कारभन्दा पनि ठूलो परियोजनाका रूपमा हेरिएको छ । कम्पनीले स्वायत्त ड्राइभिङ, रोबोट्याक्सी र कृत्रिम बुद्धिमत्ता (एआई) लाई आफ्नो आगामी व्यावसायिक विस्तारको महत्वपूर्ण आधार बनाउँदै आएको छ ।

यदि साइबरक्याबले अपेक्षित रूपमा स्वायत्त सेवा सञ्चालन गर्न सफल भएमा टेस्लाले चालकविहीन यात्रु सेवाको नयाँ बजार विस्तार गर्ने अवसर पाउनेछ । त्यसैले यसको सार्वजनिक प्रदर्शनलाई टेस्लाको आगामी एआई तथा स्वायत्त सवारी रणनीतिका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।