कीवर्डहरू -

फोन चार्ज गर्दा यी गल्ती नगर्नुहोस्, ब्याट्री र डिभाइसमा पर्न सक्छ गम्भीर असर

फोन चार्ज गर्दा यी गल्ती नगर्नुहोस्, ब्याट्री र डिभाइसमा पर्न सक्छ गम्भीर असर

काठमाडौं । फोन अहिले हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ। बिहान उठेदेखि राति सुत्दासम्म अधिकांश समय फोन हामीसँगै हुन्छ । कल, म्यासेज, सामाजिक सञ्जालदेखि अनलाइन कामसम्मका लागि फोनको प्रयोग बढ्दो छ । त्यसैले ब्याट्री सकिन नदिन दिनमा एक दुई पटक फोन चार्ज गर्नु सामान्य भइसकेको छ ।

तर फोन चार्ज गर्ने क्रममा हामीले जानेर वा नजानेर केही सामान्य गल्ती गरिरहेका हुन्छौँ । सामान्य जस्तो लाग्ने यस्ता गल्ती लामो समयसम्म दोहोरिँदा फोनको ब्याट्रीको आयु घट्नुका साथै डिभाइसमा समेत असर पर्न सक्छ ।

विशेष गरी गुणस्तरहीन चार्जर तथा केबल प्रयोग गर्ने, बिग्रिएको केबलबाट फोन चार्ज गर्ने वा फोन अत्यधिक तातिरहेको अवस्थामा पनि चार्ज गरिरहने बानीले ब्याट्रीमा अतिरिक्त दबाब पर्न सक्छ ।

फोन चार्ज गर्दा हुने सामान्य गल्ती
१. गुणस्तरहीन केबल प्रयोग नगर्नुहोस्

फोनमा केबल सजिलै जोडिँदैमा त्यो सुरक्षित र गुणस्तरीय हुन्छ भन्ने हुँदैन । खराब वा गुणस्तरहीन केबल प्रयोग गर्दा चार्जिङमा समस्या आउन सक्छ । यदि केबल काटिएको छ, तार बाहिर देखिएको छ वा कनेक्टर बिग्रिएको छ भने त्यस्तो केबल प्रयोग गर्नु हुँदैन । सकेसम्म फोन निर्माता वा विश्वसनीय ब्रान्डले सिफारिस गरेको गुणस्तरीय केबल प्रयोग गर्नु राम्रो हुन्छ ।

२. फोन अत्यधिक तातिरहेको छ भने चार्ज नगर्नुहोस्
चार्ज गर्ने क्रममा फोन असामान्य रूपमा तातिरहेको छ भने केही समयका लागि चार्ज गर्न रोक्नुहोस् । अत्यधिक तापक्रमले ब्याट्रीको कार्यक्षमता र आयुमा असर पार्न सक्छ । फोन तातिरहेको अवस्थामा त्यसलाई घाममा वा अत्यधिक गर्मी भएको स्थानमा राखेर चार्ज गर्नु हुँदैन । फोन सामान्य तापक्रममा आएपछि मात्र पुन: चार्ज गर्नु उचित हुन्छ ।

३. ओछ्यान वा कपडामाथि राखेर चार्ज नगर्नुहोस्
फोन चार्ज गर्दा ओछ्यान, सिरानी, कम्बल वा बाक्लो कपडामाथि राख्नु उचित हुँदैन । यस्ता वस्तुले फोनबाट निस्कने ताप बाहिर जान नदिँदा फोन बढी तात्न सक्छ । त्यसैले चार्ज गर्दा फोनलाई हावा सहज रूपमा चल्ने खुला र समथर सतहमा राख्नु राम्रो हुन्छ ।

४. पानी परेको वा भिजेको अवस्थामा चार्ज नगर्नुहोस्
फोनको चार्जिङ पोर्ट वा केबलको कनेक्टर भिजेको अवस्थामा फोनलाई चार्जमा नजोड्नुहोस् । पानी वा चिस्यानका कारण सर्ट सर्किट तथा अन्य विद्युतीय समस्या आउन सक्छ । चार्जिङ पोर्टमा पानी वा चिस्यान देखिएमा पहिले त्यसलाई राम्रोसँग सुक्न दिनुहोस् । पूर्ण रूपमा सुकिसकेपछि मात्र चार्ज गर्नु सुरक्षित हुन्छ ।

५. क्षतिग्रस्त चार्जर प्रयोग नगर्नुहोस्
चार्जरको तार काटिएको, प्लग बिग्रिएको वा चार्जर असामान्य रूपमा तात्ने गरेको छ भने त्यसलाई प्रयोग नगर्नुहोस् । क्षतिग्रस्त चार्जरले फोनमा मात्र नभई प्रयोगकर्ताको सुरक्षामा समेत जोखिम निम्त्याउन सक्छ ।

फोन चार्ज गर्दा सामान्य सावधानी अपनाउनु निकै आवश्यक हुन्छ । गुणस्तरीय र उपयुक्त चार्जर तथा केबल प्रयोग गर्ने, फोनलाई अत्यधिक तात्न नदिने र भिजेको अवस्थामा चार्ज नगर्ने हो भने फोन तथा ब्याट्रीलाई सुरक्षित राख्न मद्दत पुग्छ ।