कीवर्डहरू -

पाटन अस्पतालमा अब मोबाइलबाटै ओपीडी टिकट, अनलाइन भुक्तानीको सुविधा

पाटन अस्पतालमा अब मोबाइलबाटै ओपीडी टिकट, अनलाइन भुक्तानीको सुविधा

काठमाडौं । पाटन अस्पतालले बिरामीलाई ओपीडी सेवा लिन सहज बनाउने उद्देश्यले मोबाइल एपमार्फत टिकट बुकिङ तथा शुल्क भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवालाई क्रमश: डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजनाअन्तर्गत ‘Patan Hospital App’ मार्फत नयाँ सेवा सुरु गरेको हो । प्रतिष्ठानका अनुसार उक्त सुविधा २०८३ साउन २७ गतेदेखि सञ्चालनमा आएको हो ।

अब सेवाग्राहीले मोबाइलमा एप डाउनलोड गरी अस्पताल नपुगी ओपीडीको टिकट बुक गर्न र टिकट शुल्कसमेत अनलाइनबाटै तिर्न सक्नेछन् । एपमा ‘सेल्फ पेमेन्ट’ लगायतका सुविधा पनि समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

एप Google Play Store बाट डाउनलोड गर्न सकिनेछ । सेवाग्राहीको सहजताका लागि अस्पतालले एप डाउनलोड गर्ने क्यूआर कोड समेत सार्वजनिक गरेको छ ।

अस्पतालका अनुसार ओपीडी टिकट बुकिङ गर्दा बिरामीले सेवा लिन चाहेको दिनभन्दा अघिल्लो दिन राति १२ बजेसम्म उपलब्ध समय स्लटमध्ये आफूलाई अनुकूल स्लट छनोट गरी टिकट बुक गरिसक्नुपर्नेछ ।

पाटन अस्पतालले यसअघि नै बिरामीका चिकित्सकीय विवरण, परीक्षण रिपोर्ट, प्रिस्क्रिप्सन तथा भुक्तानीलगायतका विभिन्न सेवामा डिजिटल प्रणालीको प्रयोग गर्दै आएको थियो ।

नयाँ एपमार्फत ओपीडी टिकट बुकिङ र भुक्तानीको सुविधा थपिएपछि अस्पतालमा टिकट लिन बिहानैदेखि लाइन बस्नुपर्ने अवस्थालाई केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

null