कीवर्डहरू -

नेपाल लाइफको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी

नेपाल लाइफको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न, ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न गरेको छ ।

‘एभरेस्ट इयर, क्लाउड्स एन्ड बियोन्ड’ नारासहित काठमाडौंको दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गरेका देशभरका ६३७ अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएको कम्पनीले जनाएको छ ।

कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, विमलप्रसाद ढकाल, प्रबिन प्रकाश क्षेत्री र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा गरेका थिए ।

सञ्चालक अग्रवालले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क अर्थात् एफपीआई संकलन गरेको बताए । कम्पनीका अनुसार यो हालसम्मकै उच्च प्रथम बीमा शुल्क संकलन हो ।

उनले आगामी आर्थिक वर्षका लागि कम्पनीले ‘एभरेस्ट इयर, क्लाउड्स एन्ड बियोन्ड’ अभियान अघि सारेको जानकारी दिए । सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन र नियामकीय व्यवस्थाको पालना महत्वपूर्ण हुने बताए ।

उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी एएमएल/सीएफटी प्रावधानको पूर्ण पालना गर्दै गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुन अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई आग्रह गरे ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले आगामी दिनमा डिजिटल रूपान्तरणलाई तीव्र बनाउने बताए । अत्याधुनिक प्रविधिको प्रयोग, ग्राहकमैत्री डिजिटल सेवा, डेटा आधारित निर्णय प्रणाली र व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव सुधार गर्ने कम्पनीको योजना रहेको उनको भनाइ छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । देशभरबाट सर्वोत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मानसमेत गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफका अनुसार २५ वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ । मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत रहेको छ भने कम्पनीले हालसम्म ५५ लाख ७९ हजारभन्दा बढी बीमा पोलिसी जारी गरेको जनाएको छ ।

त्यस्तै, हालसम्म कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ पुगेको र नेपाल सरकारलाई १७ अर्ब ७१ करोड रुपैयाँ कर भुक्तानी गरेको कम्पनीको दाबी छ ।