काठमाडौं । नेपालका स्टार्टअप तथा युवा उद्यमीलाई भारतीय बजारमा प्रवेश गर्न सहज वातावरण बनाउने तयारी भइरहेको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् । भारतले नेपाली स्टार्टअपलाई पूँजी, बजार, मेन्टरसिप तथा व्यावसायिक सञ्जालसँग जोड्न सहकार्य गर्दै आएको उनको भनाइ छ ।
काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा: आइडियाज अक्रस बोर्डर्स’को पहिलो संस्करणअन्तर्गतको भारत-नेपाल संवादमा बोल्दै राजदूत श्रीवास्तवले नेपालमा ३५ वर्षमुनिको जनसंख्या करिब ६० प्रतिशत रहेको उल्लेख गर्दै युवाकेन्द्रित सहकार्यलाई भारतले प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार पछिल्ला केही वर्षमा नेपालका युवा राजनीतिक नेतृत्वसँगै उद्यमी तथा स्टार्टअप क्षेत्रमा भारतको सहकार्य बढाइएको छ । नेपाली युवामा रहेको प्रतिभा, सिर्जनशीलता र महत्वाकांक्षालाई भारतीय स्टार्टअप इकोसिस्टमसँग जोड्न सके दुवै देशले लाभ लिन सक्ने उनले बताए ।
यसै क्रममा भारतले गत वर्षदेखि ‘इन्डिया-नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क’ सञ्चालनमा ल्याएको उनले जानकारी दिए । भारतीय प्रविधि संस्थान (आईआईटी) मद्राससँगको सहकार्यमा अघि बढाइएको उक्त कार्यक्रममार्फत हालसम्म दुई चरणमा करिब ४९ नेपाली स्टार्टअपले तालिम, मेन्टरसिप तथा नेटवर्किङको अवसर पाइसकेका छन् ।
कार्यक्रममा सहभागी केही नेपाली स्टार्टअपले भारतमा इन्क्युबेसनका लागि प्रस्ताव प्राप्त गरिसकेको र केहीमा भारतीय लगानीसमेत भित्रिएको राजदूत श्रीवास्तवले बताए । अब भारतमा व्यवसाय विस्तार गर्न चाहने नेपाली स्टार्टअपका लागि नियामकीय प्रक्रियालाई सहज बनाउने विषयमा समेत काम भइरहेको उनले जानकारी दिए ।
भारतीय स्टार्टअप इकोसिस्टमले नेपाली उद्यमीलाई ठूलो बजारसँगै पूँजी र व्यावसायिक सम्पर्क विस्तार गर्ने अवसर प्रदान गर्न सक्ने उनको भनाइ थियो । राजदूत श्रीवास्तवले नेपाल-भारत युवा सहकार्य स्टार्टअप र प्रविधिमा मात्र सीमित नरहेको बताए । क्रिकेट, शिक्षा तथा सीप विकासका क्षेत्रमा पनि दुवै देशका युवालाई जोड्ने प्रयास भइरहेको उनले उल्लेख गरे ।
‘एनडीटीभी अन्विक्षा: आइडियाज अक्रस बोर्डर्स’ को पहिलो संस्करण नेपालमा आयोजना गर्नुको उद्देश्य नेपालका युवाको आवाज, आकांक्षा र भविष्यप्रतिको दृष्टिकोणलाई केन्द्रमा राख्दै नेपाल–भारत सम्बन्धका नयाँ आयामबारे संवाद अघि बढाउनु रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपालको आर्थिक सम्भावना, उद्यमशीलता, लोकतान्त्रिक विकास, युवा आकांक्षा, प्रविधि, पर्यटन, पूर्वाधार, व्यापार तथा क्षेत्रीय सहकार्यलगायत विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल भइरहेको छ ।
आईसीटी समाचार