काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्धार, राहत तथा पुन:स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुन:स्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा यो सहयोग घोषणा गरेको हो ।
यस दुःखद् घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति एनसेल हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, हराई रहेका तथा प्रभावितहरुको शीघ्र उद्धार तथा राहत व्यवस्थापनको कामना गरेको छ ।
एनसेलले विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई हिजोदेखि लागू हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि नि:शुल्क उपलब्ध गराएको छ ।
यस पहलले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “विपद्को यस कठिन घडीमा प्रभावित जनताहरुको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो । उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले रु १ करोड सहयोग गर्ने निर्णय गरेका हौं । यस विषम परिस्थितीमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौं ।”
एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुन:स्थापनाका प्रयासमा सहयोग गर्दै आएको छ । कम्पनीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
आईसीटी समाचार