कीवर्डहरू -

स्थानीय तहका सेवा एउटै प्लेटफर्ममा, ‘ओखलढुङ्गा कनेक्ट’ सञ्चालनमा

स्थानीय तहका सेवा एउटै प्लेटफर्ममा, ‘ओखलढुङ्गा कनेक्ट’ सञ्चालनमा

काठमाडौं । ओखलढुङ्गाका नागरिकले अब स्थानीय सरकारका सेवा, सूचना र सम्बन्धित अधिकारीको विवरण एकै ठाउँबाट अनलाइनमार्फत प्राप्त गर्न सक्ने भएका छन् । नागरिक र स्थानीय सरकारबीचको सम्बन्धलाई डिजिटल माध्यमबाट सहज बनाउने उद्देश्यले ‘ओखलढुङ्गा कनेक्ट’ नामक नि:शुल्क वेब एप सञ्चालनमा ल्याइएको हो ।

ओखलढुङ्गाका स्थानीयवासी तथा सूचना प्रविधि उद्यमी जीवन श्रेष्ठले विकास गरेको उक्त प्लेटफर्म यसै सातादेखि सञ्चालनमा आएको हो । श्रेष्ठका अनुसार प्लेटफर्मले जिल्लावासीलाई सरकारी सेवा तथा सूचनामा सहज पहुँच दिलाउनुका साथै स्थानीय सरकार र नागरिकबीच डिजिटल सम्पर्कको माध्यमका रूपमा काम गर्नेछ ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिने प्लेटफर्ममार्फत जिल्लाका सबै स्थानीय तहका सेवा र सार्वजनिक सूचनाबारे जानकारी लिन सकिनेछ । घरबाटै सरकारी कार्यालयका सेवा प्रक्रिया बुझ्न सकिने गरी ‘सेवा गाइड’को व्यवस्था गरिएको छ भने कार्यालय तथा सम्बन्धित अधिकारीको सम्पर्क विवरणका लागि ‘डाइरेक्टरी’ सुविधा राखिएको छ ।

प्लेटफर्ममा ‘ओखल साथी’ नामक च्याटबोट समेत समावेश गरिएको छ । यसमार्फत प्रयोगकर्ताले ओखलढुङ्गासम्बन्धी विभिन्न प्रश्न सोधेर आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै, आपतकालीन सूचना, यातायात, बजार तथा व्यवसायसम्बन्धी जानकारी पनि प्लेटफर्ममा उपलब्ध हुने श्रेष्ठले बताए ।

ग्रामीण क्षेत्रका नागरिकलाई सरकारी सेवा र सूचनामा सहज पहुँच पुर्‍याउने उद्देश्यले प्लेटफर्म विकास गरिएको श्रेष्ठको भनाइ छ । उनका अनुसार नागरिकले प्लेटफर्म प्रयोग गर्न नाम र फोन नम्बर मात्र दर्ता गर्नुपर्नेछ । प्लेटफर्ममा समावेश गरिने अधिकांश सूचना सार्वजनिक प्रकृतिका भएकाले व्यक्तिगत तथ्याङ्क सुरक्षाका दृष्टिले पनि जोखिम न्यून रहने उनले बताए ।

श्रेष्ठले ‘ओखलढुङ्गा कनेक्ट’लाई नागरिकको दैनिक आवश्यकतासँग जोडिएको डिजिटल सूचना केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । स्थानीय तहका सेवा, सार्वजनिक सूचना तथा आपतकालीन जानकारीलाई एउटै डिजिटल माध्यममा उपलब्ध गराउँदा ग्रामीण क्षेत्रका नागरिकलाई विशेष लाभ पुग्ने उनको अपेक्षा छ ।

प्लेटफर्मले सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई समेत स्थानीय तहबाट सहयोग पुर्‍याउने श्रेष्ठको विश्वास छ । नागरिकलाई सरकारी सेवा र सूचनासम्म डिजिटल पहुँच विस्तार गर्ने प्रयासका रूपमा ‘ओखलढुङ्गा कनेक्ट’लाई अघि बढाइएको उनले बताए ।