काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस कल, डेटा र एसएमएस सुविधा थप तीन दिनका लागि विस्तार गरेको छ ।
कम्पनीका अनुसार अब भदौ १२, १३ र १४ गतेसम्म प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीले उक्त सुविधा प्रयोग गर्न सक्नेछन् । यसअघि टेलिकमले दुई दिनका लागि नि:शुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । थप गरिएको सुविधाअन्तर्गत दैनिक २ जीबी डेटा र ५० वटा एसएमएस नि:शुल्क उपलब्ध हुनेछन् ।
यस्तै, भ्वाइस कल पनि नि:शुल्क गरिएको छ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्र प्रभावित भएका छन् । बाढीका कारण भौतिक संरचनामा क्षति पुग्नुका साथै विद्युत् तथा सञ्चार सेवामा समेत अवरोध आएको छ ।
नेपाल टेलिकमले विपद्बाट प्रभावित नागरिकलाई आफन्त, उद्धार तथा राहतकर्मी र सम्बन्धित निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले निःशुल्क सञ्चार सुविधा थप गरिएको जनाएको छ ।
कम्पनीले बाढी प्रभावित तथा जोखिममा रहेका क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान समेत आग्रह गरेको छ । यसका लागि टेलिकमले सेवाग्राहीलाई एसएमएसमार्फत पूर्वसूचना तथा सचेतनामूलक सन्देश समेत पठाएको जनाएको छ ।
बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको कम्पनीले जनाएको छ । त्यसका बाबजुद दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत सम्भार गर्न प्राविधिक टोली परिचालन गरिएको छ । कम्पनीले विपद्को अवस्थामा सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र प्राविधिक सहयोगलाई प्राथमिकता दिएको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी रहेका बेला सञ्चार सेवा सहज बनाउने टेलिकमको निर्णयले प्रभावित नागरिकलाई उद्धार टोली, आफन्त र सरकारी निकायसँग सम्पर्कमा रहन सहयोग पुग्ने देखिएको छ ।
आईसीटी समाचार