काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग उपलब्ध गराउँदा आधिकारिक माध्यमको प्रयोग गर्न प्रधानमन्त्री सचिवालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।
बाढी प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि विभिन्न व्यक्ति, संस्था र समूहबाट सहयोग संकलन भइरहेका बेला व्यक्तिगत बैंक खाता तथा अनधिकृत क्यूआर कोडमार्फत रकम उठाउने गतिविधि देखिएपछि सचिवालयले सचेत गराएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार कतिपय व्यक्ति, समूह तथा संस्थाले राहत संकलनका नाममा व्यक्तिगत बैंक खाताका विवरण र क्यूआर कोड सार्वजनिक गरी रकम संकलन गरिरहेको पाइएको छ । यस्तो कार्यबाट आर्थिक अनियमितता तथा ठगीको जोखिम बढ्न सक्ने भन्दै सहयोगकर्तालाई सजग रहन आग्रह गरिएको छ ।
सहयोग रकमको पारदर्शी उपयोग र उचित व्यवस्थापन सुनिश्चित गर्न सरकारले सार्वजनिक गरेका आधिकारिक क्यूआर कोड तथा बैंक खाता नम्बरमा मात्र रकम जम्मा गर्न सचिवालयले अनुरोध गरेको छ ।
सचिवालयले विपद्को अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्ने नाममा हुने सम्भावित आर्थिक ठगीबाट जोगिन सहयोग गर्नुअघि सम्बन्धित खाता तथा क्यूआर कोड आधिकारिक हो वा होइन भन्ने यकिन गर्न समेत आग्रह गरेको छ ।
आईसीटी समाचार