काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा अवरुद्ध दूरसञ्चार सेवा पुन: सञ्चालनमा तीव्रता दिएको छ ।
बिहीबार हेलिकप्टरमार्फत कर्मचारी परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ स्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ ।
त्यस्तै, शुक्रबार बिहानैदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । सेवा पुन: सञ्चालन हुन बाँकी रहेका स्थानमा मोबाइल सेवा सुचारु गर्ने तथा सञ्चालनमा आएका टावरलाई थप भरपर्दो बनाउने काम भइरहेको टेलिकमले जनाएको छ ।
यस क्रममा रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ स्थित गोल्जुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याइएको छ । टावर सञ्चालनमा आएसँगै स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका ४ र ५ तथा गोसाईंकुण्ड गाउँपालिका ३ र ५ का साथै स्याफ्रुबेँसी टिम्मुरे राजमार्गका केही भागमा दूरसञ्चार सेवा पुन: सुचारु भएको छ ।
त्यसैगरी, नुवाकोटको सूर्यगढी गाउँपालिका ३ स्थित गेर्खु मोबाइल टावर पनि सञ्चालनमा आएको छ । उक्त टावर सञ्चालनमा आएसँगै विदुर नगरपालिका १० र ११ तथा सूर्यगढी गाउँपालिका ४ का केही भागमा दूरसञ्चार सेवा सुचारु भएको छ ।
यसका साथै विदुर नगरपालिका ८ स्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका २ अन्तर्गत टिम्मुरेमाथिको डाँडामा रहेको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी पठाई सेवा सुचारु गर्ने काम भइरहेको छ ।
नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरू बुधबारदेखि नै रसुवाका न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर बाढी प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याउने तथा सेवा थप प्रभावकारी बनाउने काम गरिरहेका छन् ।
बाढीका कारण विभिन्न स्थानमा टेलिकमका पूर्वाधारमा क्षति पुगेपछि अवरुद्ध भएको सेवा क्रमश: पुन: सञ्चालनमा ल्याउने काम भइरहेको नेपाल टेलिकमले जनाएको छ ।
आईसीटी समाचार