कीवर्डहरू -

बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि सार्वजनिक बिदामा पनि प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने

बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि सार्वजनिक बिदामा पनि प्रेस प्रतिनिधि प्रमाणपत्र दिइने

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार संकलन गर्न जाने सञ्चारकर्मीलाई सहज रूपमा प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सार्वजनिक बिदाका दिन समेत सेवा प्रवाह गरिने भएको छ ।

सञ्चार तथा सूचना मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले बाढी प्रभावित क्षेत्रमा समाचार संकलनका लागि जाने इच्छुक नेपाली तथा विदेशी सञ्चारमाध्यमका पत्रकारलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिन समेत सेवा उपलब्ध गराउने जनाएको हो ।

विभागले जारी गरेको सूचनाअनुसार २०८३ भदौं १२ देखि भदौं १४ गतेसम्म सार्वजनिक बिदाका दिन समेत प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार परिचयपत्रसम्बन्धी सेवा प्रवाह हुनेछ । प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार परिचयपत्र लिन विभागको वेबसाइटमा रहेको अनलाइन सेवामार्फत आवश्यक कागजातसहित आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

नेपाली पत्रकारका लागि नेपाली नागरिकताको प्रमाणपत्र, सञ्चारमाध्यमले दिएको नियुक्तिपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र दिन संस्थाले गरेको सिफारिसपत्र, शैक्षिक योग्यताका प्रमाणपत्र, नवीकरण एवम् अद्यावधिक भएको संस्थाको प्रमाणपत्र, प्रतिबद्धता पत्र तथा तलब भुक्तानी गरिएको प्रमाणित बैंक विवरणलगायतका कागजात आवश्यक पर्ने विभागले जनाएको छ ।

त्यसैगरी, विदेशी पत्रकारका लागि प्रवेशाज्ञा भएको राहदानीको प्रतिलिपि, नियुक्ति एवम् सम्झौतापत्र, सम्बन्धित संस्थाको सिफारिसपत्र, सम्बन्धित देशको परराष्ट्र मन्त्रालय वा नेपालस्थित राजदूतावास एवम् कन्सुलर कार्यालयको सिफारिसपत्र तथा सम्बन्धित संस्थाको परिचयपत्रलगायतका कागजात आवश्यक पर्नेछ ।

विभागले अनलाइन आवेदन स्वीकृत भएपछि प्रेस प्रतिनिधि प्रमाणपत्र तथा पत्रकार परिचयपत्र लिन नियमानुसार शुल्क अनलाइनबाट तिरी पासपोर्ट साइजको दुई प्रति तस्बिरसहित विभागमा आवेदक स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।

null