काठमाडौं । यूट्युबले आफ्नो सपिङ तथा एफिलिएट व्यवसाय विस्तार गर्दै अमेजनलाई पनि YouTube Shopping Affiliate Program मा जोडेको छ । यससँगै योग्य यूट्युब क्रिएटरले अमेजनका उत्पादन सिफारिस गरेर प्रत्यक्ष रूपमा कमिसन आम्दानी गर्न सक्ने भएका छन् । यूट्युबका प्रमुख कार्यकारी अधिकृत निल मोहनले सामाजिक सञ्जाल एक्समार्फत अमेजन कार्यक्रमको साझेदार बनेको जानकारी दिएका हुन् ।
नयाँ व्यवस्थाअनुसार कार्यक्रममा योग्य क्रिएटरले आफ्ना भिडियो, Shorts र Live Stream मा अमेजनका विभिन्न उत्पादन ट्याग वा लिंक राख्न सक्नेछन् । दर्शकले उक्त लिंकमार्फत उत्पादन खरिद गरेमा त्यसबाट प्राप्त बिक्रीका आधारमा क्रिएटरले कमिसन पाउनेछन् । यसले यूट्युबमा उत्पादनसम्बन्धी सामाग्री बनाउने क्रिएटरका लागि सामाग्री निर्माणसँगै अतिरिक्त आम्दानीको बाटो खोल्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, भिडियो हेर्दै गर्दा आफूलाई मन परेको उत्पादनबारे जानकारी लिएर त्यहीँबाट खरिद गर्न चाहने दर्शकका लागि पनि यो सुविधा उपयोगी हुने देखिएको छ । अमेजनको ठूलो अनलाइन कारोबारका कारण यूट्युबको सपिङ प्रणालीमा यसको प्रवेशलाई ई-कमर्स र कन्टेन्ट क्रिएटरबीचको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
यूट्युबले पछिल्लो समय आफ्नो सपिङ कार्यक्रमलाई थप क्रिएटरसम्म पुर्याउने प्रयास गर्दै आएको छ । गत मार्चमा कम्पनीले कार्यक्रममा सहभागी हुन आवश्यक न्यूनतम सब्सक्राइबर संख्या घटाएको थियो । यसबाट पहिलेको मापदण्ड पूरा गर्न नसक्ने थप क्रिएटर समेत एफिलिएट कार्यक्रममार्फत आम्दानीको अवसरमा जोडिएका थिए ।
कम्पनीका अनुसार हालसम्म १० लाखभन्दा बढी व्यक्ति YouTube Shopping मा सहभागी भइसकेका छन् । कार्यक्रमको पहुँच पनि विस्तार भइरहेको छ । पछिल्लो समय अर्जेन्टिना, मेक्सिको र बेलायतमा समेत एफिलिएट कार्यक्रम सुरु गरिएको यूट्युबले जनाएको छ ।
आईसीटी समाचार