कीवर्डहरू -

विश्वकै लोकप्रिय स्मार्टफोनमा फेरि एप्पलको दबदबा, शीर्ष स्थानमा आईफोन १७

विश्वकै लोकप्रिय स्मार्टफोनमा फेरि एप्पलको दबदबा, शीर्ष स्थानमा आईफोन १७

काठमाडौं । एप्पलको आईफोनले विश्वका सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आफ्नो दबदबा कायम राखेको छ । काउन्टरपोइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आईफोन १७ विश्वकै सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ ।

काउन्टरपोइन्ट रिसर्चले प्रत्येक त्रैमासिकमा विश्वमा सर्वाधिक लोकप्रिय स्मार्टफोनहरूको सूची सार्वजनिक गर्दै आएको छ । पछिल्लो सूचीमा आईफोन १७ ले ६ प्रतिशत बजार हिस्सा ओगट्दै पहिलो स्थान हासिल गरेको हो । गत वर्षको सोही अवधिमा आईफोनको बजार हिस्सा ४ प्रतिशत रहेको थियो ।

सूचीको शीर्ष १० मा एप्पल र सामसङका स्मार्टफोनले मात्र स्थान बनाएका छन् । एप्पलका पाँच मोडल शीर्ष १० मा परेका छन् । आईफोन १७ पहिलो स्थानमा रहँदा आईफोन १७ प्रो म्याक्स दोस्रो र आईफोन १७ प्रो तेस्रो स्थानमा छन् । त्यस्तै, आईफोन १७ई सातौँ तथा आईफोन १६ दसौँ स्थानमा परेको छ ।

आईफोन १७ को लोकप्रियता बढ्नुमा यसको डिस्प्लेमा गरिएको सुधारलाई प्रमुख कारण मानिएको छ । एप्पलले यसपटकको स्ट्यान्डर्ड मोडलमा १२० हर्ज रिफ्रेस रेटसहित ओएलईडी डिस्प्ले उपलब्ध गराएको छ ।

अघिल्लो आईफोन १६ मा ६० हर्ज रिफ्रेस रेट रहेको थियो । नयाँ सुविधाले आईफोन १७ प्रति उपभोक्ताको आकर्षण बढाएको विश्लेषण गरिएको छ । सामसङका पाँच स्मार्टफोनले पनि शीर्ष १० मा स्थान सुरक्षित गरेका छन् ।

ग्यालेक्सी एस२६ अल्ट्रा चौथो स्थानमा रहँदा ग्यालेक्सी ए०७ फोरजी पाँचौँ, ग्यालेक्सी ए१७ फाइभजी छैटौँ, ग्यालेक्सी ए१७ फोरजी आठौँ र ग्यालेक्सी एस२६ नवौँ स्थानमा छन् ।

शीर्ष १० मा एप्पल र सामसङबाहेक अन्य कुनै कम्पनीका स्मार्टफोन पर्न सकेका छैनन् । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले यसपटक शीर्ष १० मा कुनै स्थान बनाउन सकेन ।

काउन्टरपोइन्टका अनुसार पछिल्लो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोन बजार ११ प्रतिशतले संकुचित भएको छ । निरन्तरको मेमोरी अभाव र स्मार्टफोनको बढ्दो मूल्यलाई बजार खुम्चिनुको प्रमुख कारण मानिएको छ ।