कीवर्डहरू -

काठमाडौं महानगरले सञ्चालन गर्‍यो विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

काठमाडौं महानगरले सञ्चालन गर्‍यो विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवा बाढी प्रभावितलाई लक्षित गर्दै विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

हेल्प डेस्कले विपद्को समयमा सहयोग गर्न चाहने व्यक्ति, संघ संस्था, पेशाकर्मी, उद्योगी/व्यवसायी र सरकारी निकायबीच पुल को रूपमा काम गर्ने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

सहयोगका लागि महानगरमा प्राप्त हुने सम्पूर्ण नगद रकम नेपाल सरकारको आधिकारिक ‘प्रधानमन्त्री राष्ट्रिय विपद् कोष’मा जम्मा गरिने, लत्ता कपडा, खाद्यान्न लगायतका राहत सामाग्रीहरूको लगत राखेर आधिकारिक स्थलहरूमा पुर्‍याइने उनले बताइन् ।

त्यस्तै, अस्पतालहरूमा उपचारमा ढिलाइ भएका तथा मानवीय सेवा नपुगेका स्थानहरूमा स्वास्थ्य स्वयंसेवकहरू परिचालन गरी राहत र उद्धारमा सहयोग गर्ने डंगोलले बताइन् ।

उनले बाढी पहिरोबाट प्रभावित र पीडितहरूको विवरण वडा–वडाबाट सङ्कलन गरिने र आगामी दिनमा समस्या समाधान र योजना निर्माणका लागि तथ्याङ्कमा आधारित तथा प्रमाणमा आधारित पद्धति अपनाइने उल्लेख गरिन् ।