कीवर्डहरू -

ह्वाट्सएपमा आउँदैछ नयाँ फिचर, च्याटमा देखिनेछ नयाँ शैलीको वालपेपर

ह्वाट्सएपमा आउँदैछ नयाँ फिचर, च्याटमा देखिनेछ नयाँ शैलीको वालपेपर

काठमाडौं । ह्वाट्सएपले आईफोन प्रयोगकर्ताका लागि नयाँ च्याट थिम फिचर ल्याएको छ । यस फिचरमार्फत प्रयोगकर्ताले आफ्नो च्याटको ब्याकग्राउन्ड अर्थात् वालपेपर परिवर्तन गर्न सक्नेछन् ।

नयाँ अपडेटमा Featured, Nature, Live, Minimal र Doodle गरी पाँचवटा थिम उपलब्ध हुनेछन् । यीमध्ये केही वालपेपरमा हल्का एनिमेसन समेत देखिनेछ । यो फिचर हाल सीमित आईफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ ।

Featured थिममा विशेष डिजाइनका वालपेपर, Nature मा प्राकृतिक दृश्य, Minimal मा साधारण डिजाइन र Doodle मा ह्वाट्सएपको चर्चित क्लासिक डूडल डिजाइन समावेश हुनेछ ।

त्यस्तै, Live थिममार्फत च्याटको ब्याकग्राउन्डमा बिस्तारै चल्ने वालपेपर राख्न सकिनेछ । यस्ता वालपेपरलाई ‘Live’ आइकनमार्फत चिनाउन सकिनेछ । एनिमेसन हल्का हुने भएकाले मेसेज पढ्दा प्रयोगकर्ताको ध्यानमा खासै असर नपर्ने बताइएको छ ।

च्याट थिम परिवर्तन गर्दा च्याट बबलको रङ पनि स्वत: परिवर्तन हुनेछ । प्रयोगकर्ताले छनोट गरेको थिमअनुसार ब्याकग्राउन्ड र मेसेज बबलको रङ मिल्ने भएकाले च्याट अझ आकर्षक र एकरूप देखिनेछ ।

ह्वाट्सएपले यो च्याट थिम फिचरलाई चरणबद्ध रूपमा प्रयोगकर्तामाझ उपलब्ध गराइरहेको छ । त्यसैले सबै आईफोन प्रयोगकर्ताले यो फिचर तत्कालै प्राप्त नगर्न सक्छन् ।

फिचर उपलब्ध भएमा प्रयोगकर्ताले App Store बाट ह्वाट्सएप अपडेट गरेर प्रयोग गर्न सक्नेछन् । कम्पनीले आगामी दिनमा यो फिचर थप प्रयोगकर्तामाझ विस्तार गर्दै लैजाने जनाएको छ ।