काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको ११ औँ संस्करण अर्थात् आइसिटी अवार्ड २०२६ का लागि खुला गरिएको अनलाइन नोमिनेसनको म्याद थप गरिएको छ । आयोजकले आवेदन दिने अवधि थप गर्दै अब भदौ ३१ गतेसम्म नोमिनेसन दर्ता गर्न सकिने जनाएको छ ।
लिभिङ विथ आइसिटीको आयोजनामा सन् २०१६ देखि आयोजना हुँदै आएको आइसिटी अवार्डको ११ औँ संस्करणका लागि गत साउन १ गतेदेखि अनलाइन नोमिनेसन खुला गरिएको थियो । यसअघि पहिलो चरणअन्तर्गतको नोमिनेसन अवधि भदौ १५ गतेसम्म तोकिएको थियो ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिले गर्दा कतिपय इच्छुक व्यक्ति, संस्था तथा प्रविधि क्षेत्रका प्रतिस्पर्धीहरू निर्धारित समयभित्र नोमिनेसन दर्ता गर्नबाट वञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै आयोजकले नोमिनेसनको म्याद थप गरेको जनाएको छ ।
आइसिटी अवार्ड २०२६ मा स्टार्टअप, प्रविधि उत्पादन तथा नवप्रवर्तनदेखि व्यक्तिगत योगदान, उद्यमशीलता, डिजिटल रूपान्तरण तथा दक्षिण एसियाली स्तरका अवार्ड विधाहरू समेटिएका छन् । यस वर्षदेखि ‘साउथ एसिया एआई इन्नोभेसन आइसिटी अवार्ड’ समेत थप गरिएको छ ।
यस संस्करणमा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड, सोसियल इन्नोभेसन आइसिटी अवार्ड, पायोनियर आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड (वुमन), आन्टरप्रेनर आइसिटी अवार्ड र नेपाली डायस्पोरा आइसिटी अवार्ड लगायतका विधामा नोमिनेसन खुला गरिएको छ ।
त्यस्तै, डिजिटल गभर्नेन्स आइसिटी अवार्ड, डिजिटल एजुकेसन आइसिटी अवार्ड (सार्वजनिक तथा निजी क्षेत्र), डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज तथा इमर्जिङ सेक्टर), साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड र साउथ एसिया एआई इन्नोभेसन आइसिटी अवार्डमा समेत आवेदन दिन सकिनेछ ।
यस वर्ष सातै प्रदेशबाट प्रविधि क्षेत्रमा क्रियाशील उत्कृष्ट एक एक स्टार्टअपलाई ‘प्रोभिन्स स्टार्टअप आइसिटी रिकोग्निसन २०२६’ मार्फत सम्मान गर्ने व्यवस्था समेत गरिएको छ । आयोजकका अनुसार नोमिनेसन अवधि थप गरिएसँगै इच्छुक व्यक्ति, संस्था, कम्पनी तथा इन्नोभेसनहरूले आफ्नो योग्यता पुगेका विधामा भदौ ३१ गतेसम्म नि:शुल्क आवेदन दिन सक्नेछन् ।
नोमिनेसन अवधि समाप्त भएपछि प्राप्त आवेदन तथा सिफारिसको अध्ययन र मूल्यांकन गर्दै विभिन्न चरणमा उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिनेछ । विभिन्न छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्टलगायतका प्रि-इभेन्टहरू आयोजना गर्दै अन्तिम चरणमा उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिने आयोजकले जनाएको छ ।
आइसिटी अवार्ड २०२६ को ग्रान्ड फिनाले आगामी पुसको पहिलो साता आयोजना गर्ने तयारी गरिएको छ । अवार्डसम्बन्धी सम्पूर्ण विवरण तथा अनलाइन नोमिनेसन http://www.ictaward.org मार्फत हेर्न तथा आवेदन दिन सकिनेछ ।
आईसीटी समाचार