कीवर्डहरू -

मस्कको दाबी: सन् २०२७ को अन्त्यसम्म डिजिटल काममा एआईले मानिसलाई उछिन्नेछ

मस्कको दाबी: सन् २०२७ को अन्त्यसम्म डिजिटल काममा एआईले मानिसलाई उछिन्नेछ

काठमाडौं । टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्कले कृत्रिम बुद्धिमत्ता (एआई) ले आगामी वर्षको अन्त्यसम्म कम्प्युटर तथा इन्टरनेटसँग सम्बन्धित अधिकांश काममा मानिसलाई पछि पार्न सक्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा राखिएको एक पोस्टको जवाफ दिँदै मस्कले एआईको तीव्र विकासबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनका अनुसार एआईले डिजिटल क्षेत्रमा मानिसभन्दा उच्च स्तरमा काम गर्ने क्षमता हासिल गर्न अब धेरै समय लाग्ने छैन ।

मस्कले विशेष गरी सफ्टवेयर विकास, अनुसन्धान, डेटा विश्लेषण तथा इन्टरनेटमार्फत गरिने अन्य डिजिटल कार्यमा एआईले मानिसभन्दा छिटो र प्रभावकारी रूपमा काम गर्न सक्ने बताएका छन् ।

तर, एआईको यस्तो क्षमता तत्काल भौतिक संसारमा विस्तार नहुने उनको भनाइ छ । कारखानामा वस्तु उत्पादन गर्ने, घर तथा अन्य भौतिक संरचना निर्माण गर्ने जस्ता काममा मानिसलाई तत्काल विस्थापित गर्ने अवस्थामा एआई नपुग्ने मस्कले बताएका छन् ।

‘रोबोटले संसार कब्जा गर्ने अवस्था अहिले छैन’
एआईको असाधारण क्षमता तत्काल डिजिटल संसारमै सीमित रहने भएकाले मानिसले आफ्नो नियन्त्रण गुमाउने वा रोबोटले संसार कब्जा गर्ने जस्ता अवस्थाबारे अहिले नै चिन्तित हुनुपर्ने अवस्था नरहेको मस्कको संकेत छ ।

यस क्रममा उनले चर्चित विज्ञान–कथा फिल्म ‘द म्याट्रिक्स’मा देखाइएको मानिस र मेसिनबीचको संघर्षलाई समेत सन्दर्भका रूपमा उल्लेख गरेका छन् । मस्कले करिब एक दशकअघि गुगलका सहसंस्थापक ल्यारी पेजसँग भएको कुराकानी पनि स्मरण गरेका छन् ।

उनका अनुसार पेजले त्यतिबेला भविष्यमा एआईले कम्प्युटर ह्याकिङमा मानिसलाई निकै पछाडि पार्न सक्ने चेतावनी दिएका थिए । एआईले आफैं कम्प्युटर प्रणालीका कमजोरी पत्ता लगाएर त्यसको दुरुपयोग गर्न सक्ने सम्भावनातर्फ पेजले त्यतिबेलै संकेत गरेको मस्कको भनाइ छ ।

एआईबाट साइबर सुरक्षामा बढ्दो जोखिम
मस्कको पछिल्लो टिप्पणी भर्सेलका प्रमुख कार्यकारी अधिकृत गुइलेर्मो राउचले एआईका कारण इन्टरनेट सुरक्षामा बढिरहेको जोखिमबारे दिएको चेतावनीपछि आएको हो ।

राउचले एआई एजेन्टहरूले मानिसको प्रत्यक्ष निर्देशनबिना नै सफ्टवेयर तथा कम्प्युटर प्रणालीका कमजोरी पहिचान गरी त्यसलाई ह्याक गर्ने प्रयास गर्न सक्ने सम्भावनातर्फ सचेत गराएका थिए ।

पछिल्लो समय एआई प्रणालीमा स्वायत्त रूपमा निर्णय लिने र जटिल काम पूरा गर्ने क्षमता बढ्दै गएको देखाउने विभिन्न घटना सार्वजनिक भइरहेका छन् । यस्तै एउटा घटनामा ओपनएआईका करिब ७०० एआई एजेन्टले हगिङ फेसका प्रणालीमा अनधिकृत प्रवेश गरेको र आफ्नो गतिविधि लुकाउने प्रयाससमेत गरेको विवरण सार्वजनिक भएको थियो ।

उक्त घटनाले एआई एजेन्टको बढ्दो क्षमता मात्र नभई मानिसको प्रत्यक्ष निर्देशन बिना काम गर्न सक्ने अत्यधिक स्वायत्त प्रणालीलाई नियन्त्रणमा राख्ने चुनौती पनि थप गम्भीर बन्दै गएको देखाएको छ ।

एआईको विकाससँगै डिजिटल क्षेत्रमा उत्पादकत्व र दक्षता बढ्ने सम्भावना रहेपनि साइबर सुरक्षा, नियन्त्रण र एआईको स्वायत्त प्रयोगसँग जोडिएका जोखिमबारे भने विश्वभर बहस तीव्र हुँदै गएको छ ।