काठमाडौं । विपद्का समयमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत तथा भ्रामक सूचनाले थप समस्या निम्त्याउन सक्ने भन्दै काठमाडौं महानगरपालिकाले सामाजिक सञ्जालको जिम्मेवार र विवेकपूर्ण प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
महानगरपालिकाले विपद्सँग सम्बन्धित अपुष्ट सूचना, पुराना तस्बिर तथा भिडियो र अनुमानका आधारमा व्यक्तिको नाम सार्वजनिक नगर्न आग्रह गरेको हो । विपद्का बेला सूचनाको तीव्र प्रवाह हुने भएकाले कुनै सामाग्री सार्वजनिक वा सेयर गर्नुअघि त्यसको स्रोत र सत्यता जाँच गर्न महानगरले अनुरोध गरेको छ ।
महानगरले विशेष गरी घाइते व्यक्ति तथा शवका तस्बिर नखिच्न र विगतका विपद्का घटना देखाउने पुराना फोटो तथा भिडियो पुन: पोस्ट नगर्न भनेको छ । त्यस्तै, पुष्टि नभएका घटना तथा मृत्युको संख्या उल्लेख गर्दै सामाजिक सञ्जालमा हल्ला नफैलाउन पनि आग्रह गरिएको छ ।
अपुष्ट अपिलमा रकम नपठाउन आग्रह
विपद्का नाममा सामाजिक सञ्जालबाट सार्वजनिक हुने अपुष्ट स्रोत वा अनधिकृत अपिलमा रकम नपठाउन महानगरले सचेत गराएको छ । आर्थिक सहयोग गर्नुअघि सम्बन्धित व्यक्ति, संस्था वा अभियानको आधिकारिकता यकिन गर्नुपर्ने महानगरको भनाइ छ ।
कुनै पोस्ट वा सामाग्री शंकास्पद वा झुटो देखिएमा त्यसलाई सामाजिक सञ्जालको सम्बन्धित माध्यममा रिपोर्ट गर्न पनि महानगरले अनुरोध गरेको छ । विपद्का समयमा अनावश्यक, एकतर्फी बहस तथा विवाद सिर्जना गर्ने सामाग्रीबाट टाढा रहन र सामाजिक सञ्जाललाई समस्या थप्ने माध्यम नभई सूचना तथा सहयोग आदानप्रदानको माध्यमका रूपमा प्रयोग गर्न महानगरले आग्रह गरेको छ ।
आधिकारिक सूचना मात्रै सम्प्रेषण गर्न सुझाव
महानगरपालिकाले विपद्का बेला आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकता दिन र आवश्यक परे हेल्पलाइन तथा राहत केन्द्रसम्बन्धी जानकारी सामाजिक सञ्जालमार्फत सेयर गर्न सुझाव दिएको छ ।
महानगरका अनुसार विपद्को समयमा सही सूचना छिटोभन्दा छिटो समुदायसम्म पुर्याउनु जति महत्वपूर्ण छ, गलत सूचना फैलिन नदिनु पनि उत्तिकै आवश्यक हुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले जिम्मेवारीपूर्वक सामग्री सम्प्रेषण गरेमा अफवाह, भ्रम र अनावश्यक त्रास फैलिनबाट रोक्न महत्वपूर्ण सहयोग पुग्ने महानगरले जनाएको छ ।
आईसीटी समाचार