कीवर्डहरू -

भोटेकोशी बाढीपछि ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको नि:शुल्क दूरसञ्चार सेवा

भोटेकोशी बाढीपछि ३ लाखभन्दा बढी ग्राहकले पाए एनसेलको नि:शुल्क दूरसञ्चार सेवा

काठमाडौं । विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रका नागरिकलाई सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले एनसेलले उपलब्ध गराउँदै आएको नि:शुल्क दूरसञ्चार सेवाबाट ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भएका छन् ।

कम्पनीले गत बुधबारदेखि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गरी नि:शुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा उपलब्ध गराउँदै आएको हो ।

विपद्का कारण परिवार तथा आफन्तसँग सम्पर्क गर्न कठिनाइ भइरहेका बेला उक्त सेवाले प्रभावित नागरिकलाई सञ्चार सम्पर्क कायम राख्न सहयोग पुगेको कम्पनीले जनाएको छ ।

एनसेलका अनुसार बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका ग्राहकलाई नि:शुल्क सेवाका लागि योग्य बनाइएको थियो । सुरुमा बुधबारदेखि तीन दिनका लागि उपलब्ध गराइएको सेवा ग्राहकको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै शनिबारदेखि थप सात दिनका लागि विस्तार गरिएको हो ।

कम्पनीका अनुसार आइतबारसम्म ग्राहकहरूले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको कुल मूल्य १ करोड रुपैयाँभन्दा बढी पुगेको छ । प्रभावित क्षेत्रमा बन्द भएका मोबाइल टावर क्रमश: पुन: सञ्चालनमा आउँदै गएसँगै नि:शुल्क सेवाको प्रयोगसमेत बढिरहेको एनसेलले जनाएको छ ।

२७ टावर प्रभावित, २४ वटा पुन: सञ्चालन
बाढी तथा पहिरोका कारण फाइबर लिंकमा क्षति पुगेपछि नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए । कम्पनीले आइतबारसम्म तीमध्ये २४ वटा साइट पुन: सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

बाँकी तीनमध्ये रसुवाको घट्टेखोला र टिमुरेमा रहेको एक टावर तथा नुवाकोटको त्रिशूली, विदुरस्थित एक टावरमा भौतिक क्षति पुगेको आशंका गरिएको छ । ती साइटमा समेत प्राविधिक अवस्थाको मूल्यांकन तथा सेवा पुन:स्थापनाका लागि आवश्यक काम भइरहेको कम्पनीले जनाएको छ ।

२५ हजारभन्दा बढी सिम पुन: सक्रिय
यसैबीच, विपद्को समयमा ग्राहकलाई निरन्तर सम्पर्कमा राख्ने उद्देश्यले एनसेलले २५ हजारभन्दा बढी सिमको सेवा पुन:सक्रिय गरिदिएको छ । ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका तथा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द भएका सिमलाई समेत कम्पनीले पुन: सक्रिय गरेको हो ।

पुनः सक्रिय गरिएका ती ग्राहकले पनि एनसेलले उपलब्ध गराएको नि:शुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको सुविधा पाएका छन् । कम्पनीका अनुसार यसले आपत्कालीन अवस्थामा प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन, उद्धार तथा राहतका लागि आवश्यक समन्वय गर्न र सहयोग लिन सहज बनाएको छ ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुँदा उद्धार, राहत तथा पुनःस्थापनाका काममा समेत चुनौती देखिएको थियो । यस्तो अवस्थामा मोबाइल नेटवर्कलाई क्रमशः पुनः सञ्चालनमा ल्याउँदै नि:शुल्क सेवा उपलब्ध गराउने एनसेलको पहलले प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पुन:स्थापित गर्न सहयोग पुगेको देखिएको छ ।