कीवर्डहरू -

कोडिङदेखि वित्तीय विश्लेषणसम्म, टेन्सेन्टको नयाँ एआई मोडल सार्वजनिक

कोडिङदेखि वित्तीय विश्लेषणसम्म, टेन्सेन्टको नयाँ एआई मोडल सार्वजनिक

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टले सफ्टवेयर इन्जिनियरिङदेखि जटिल अनुसन्धान र वित्तीय विश्लेषणसम्मका कामलाई लक्षित गर्दै नयाँ ओपन सोर्स एआई मोडल सार्वजनिक गरेको छ ।

कम्पनीले ‘एचवाई४ प्रिभ्यू’ (HY4 Preview) नामको उक्त मोडलको प्रारम्भिक संस्करण एआई मोडल साझेदारी प्लेटफर्म हगिङ फेसमार्फत सार्वजनिक गरेको हो । चीनमा तीव्र बन्दै गएको आर्टिफिसियल इन्टेलिजेन्स प्रतिस्पर्धाबीच टेन्सेन्टको यो नयाँ कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एचवाई४मा ‘मिक्सचर अफ एक्सपर्ट्स’ अर्थात् एमओई आर्किटेक्चर प्रयोग गरिएको छ । मोडलमा कुल ७७० अर्ब प्यारामिटर भएपनि प्रत्येक टेक्स्ट अनुरोध प्रशोधनका क्रममा करिब ४९ अर्ब प्यारामिटर मात्र सक्रिय हुने कम्पनीले जनाएको छ ।

टेन्सेन्टका अनुसार यो मोडल विशेषगरी कोडिङ, सफ्टवेयर विकास, गहिरो अनुसन्धान तथा वित्तीय विश्लेषणजस्ता जटिल कार्यका लागि डिजाइन गरिएको हो । कम्पनीले भविष्यमा आफ्ना कोड बड्डी र वर्कबड्डीलगायतका उत्पादनमा समेत यसलाई समावेश गर्ने योजना बनाएको छ ।

यद्यपि, कम्पनीले एचवाई४ अझै प्रारम्भिक चरणमै रहेको स्वीकार गरेको छ । जटिल प्रश्नको उत्तर खोज्ने क्रममा मोडलले अपेक्षाकृत बढी समय लिन सक्ने र एउटै उत्तरलाई पटक–पटक प्रमाणीकरण गर्ने व्यवहार देखाउन सक्ने बताइएको छ ।

टेन्सेन्टले एआई क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिरहेका बेला यो मोडल सार्वजनिक भएको हो । अलिबाबा, बाइडु, डीपसिक जस्ता कम्पनीले समेत ठूला भाषा मोडल तथा एआई एजेन्ट विकासमा आक्रामक रूपमा लगानी बढाइरहेका छन् ।

यसअघि टेन्सेन्टले अप्रिलमा ‘हुनयुआन ३.०’ ठूलो भाषा मोडल सार्वजनिक गरेको थियो। नयाँ एचवाई४लाई ओपन सोर्स रूपमा उपलब्ध गराउँदै कम्पनीले अनुसन्धानकर्ता तथा व्यावसायिक प्रयोगकर्तामाझ आफ्नो एआई प्रविधिको पहुँच विस्तार गर्ने रणनीति अघि बढाएको देखिन्छ ।