कीवर्डहरू -

बाढीपीडित ग्राहकलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

बाढीपीडित ग्राहकलाई कागजातबिनै बैंकिङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । प्राकृतिक विपद्का कारण चेक, बैंक कार्ड, मोबाइल फोन तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकले अब पनि बैंकिङ सेवा लिन सक्ने भएका छन् ।

हालै रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित ग्राहकलाई बैंकिङ सेवाबाट वञ्चित हुन नदिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार, बैंक तथा वित्तीय संस्थामा पहिलेबाट उपलब्ध ग्राहकको केवाईसी विवरण, हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान पुष्टि गर्न सकिनेछ । यसरी ग्राहक यकिन भएपछि आवश्यक वित्तीय सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण बैंकिङ कारोबारका लागि प्रयोग हुने चेक, कार्ड, मोबाइल फोन वा अन्य कागजात हराएका कारण ग्राहकलाई सेवा लिन समस्या नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रभावित ग्राहकलाई आवश्यक सहयोग तथा सहजीकरण गर्दै वित्तीय सेवामा पहुँच सुनिश्चित गर्नुपर्नेछ ।