काठमाडौं । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाका मोबाइल बीटीएस साइटहरू पुन: सञ्चालनमा ल्याएको छ । सबै प्रभावित स्थानमा नेटवर्क पहुँच कायम भएसँगै उद्धार, राहत तथा अन्य अत्यावश्यक सेवाका लागि सञ्चार सुविधा सहज भएको कम्पनीले जनाएको छ ।
गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा नेपाल टेलिकमका विभिन्न टावरबाट उपलब्ध हुँदै आएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । सेवा पुन: सञ्चालनका लागि नेपाल टेलिकमका प्राविधिकहरू बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिएका थिए ।
सडक तथा विद्युत सेवा अवरुद्ध भएका दुर्गम क्षेत्रमा सुरक्षा निकायसँग समन्वय गरी हेलिकप्टरमार्फत प्राविधिक जनशक्ति, उपकरण, जेनेरेटर तथा इन्धन पुर्याएर सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।
नेपाल–चीन सीमा नजिक रहेको रसुवा बोर्डर मोबाइल साइट भदौ १४ गते सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य भइरहेका अधिकांश स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा रहेका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ८३ साइटबाट सञ्चालित सेवा अवरुद्ध भएका थिए । तीमध्ये टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालनमा ल्याइएपछि नेपाल टेलिकमका सबै प्रभावित साइट पुन: सञ्चालनमा आएका छन् ।
पूर्ण रूपमा क्षतिग्रस्त भएका साइटबाट उपलब्ध गराइने सेवा भने हाल अन्य साइटमार्फत प्रदान भइरहेको कम्पनीले जनाएको छ । मोबाइल सेवाको प्रभावकारिता थप बढाउन क्षतिग्रस्त साइटहरूलाई प्राथमिकतामा राखेर पुन: निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
बाढीको जानकारी प्राप्त भएलगत्तै भदौ ११ गते रसुवाका न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायतका उपकरण पुर्याएर सेवा सञ्चालन गरिएको थियो । रसुवा सदरमुकाम धुन्चेमा पनि जेनेरेटर, इन्धन तथा आवश्यक कर्मचारी परिचालन गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।
त्यसैगरी भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरेमाथिको डाँडामा रहेका टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक जनशक्ति पुर्याएर सेवा सुचारु गरिएको थियो ।
नुवाकोटको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी ठमेल डाँडामा पनि जेनेरेटर र इन्धनसहित कर्मचारी परिचालन गरिएको थियो । भदौ १३ गते रसुवाको त्रिशूली–३ ‘ए’ नजिक रहेको टावर, उत्तरगया गाउँपालिका स्थित कालिकास्थानको टावर तथा नुवाकोटको बुङताङ टावर सञ्चालनमा ल्याइएको थियो ।
यसैगरी कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर पनि पुन: सञ्चालनमा आएका थिए । त्यस दिनसम्म प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आइसकेका थिए ।
भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालनमा ल्याइएको थियो ।
यसअन्तर्गत रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा रहेको रसुवा बोर्डर साइटसहित अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ तथा नुवाकोटका चारघरे र चारघरे मुलाबारी साइट रहेका थिए ।
रसुवा बोर्डर बीटीएस सञ्चालनमा आएपछि नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुन: सञ्चालन भएको थियो । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएका थिए ।
भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट पनि सञ्चालनमा ल्याइएको थियो । प्रभावित क्षेत्रका प्राथमिकताप्राप्त साइटहरू निरन्तर सञ्चालनमा राख्न जेनेरेटर, इन्धन तथा प्राविधिक कर्मचारी परिचालन गरिएको टेलिकमले जनाएको छ ।
विद्युत आपूर्ति अझै नियमित नभएका केही साइटहरू हाल पनि जेनेरेटरमार्फत सञ्चालनमा रहेका छन् । विद्युत सेवा सहज भएका कतिपय स्थानका साइटहरू स्वतः सञ्चालनमा आएका छन् भने फोरजी सेवाको प्रभावकारिता पनि क्रमश: बढ्दै गएको कम्पनीले जनाएको छ ।
सेवा पुन: सञ्चालनका क्रममा सहकार्य र समन्वय गर्ने सम्बन्धित मन्त्रालय, नेपाली सेना तथा सुरक्षा निकाय, नेपाल विद्युत प्राधिकरण, विद्युत गृह सञ्चालक, हेलिकप्टर सञ्चालक, स्थानीय तह, स्वयंसेवी संस्था, मोबाइल मर्मत सेवा प्रदायकका प्राविधिक, सञ्चारमाध्यम तथा मोबाइल सेवासँग सम्बन्धित सहयोगी निकायप्रति नेपाल टेलिकमले आभार व्यक्त गरेको छ ।
विपद्को अवस्थामा समेत आम नागरिकका लागि सञ्चार सेवा सुनिश्चित गर्दै ‘राष्ट्रको सञ्चार’को गरिमा कायम राख्न नेपाल टेलिकम सदाझैँ प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
आईसीटी समाचार