कीवर्डहरू -

भाइबरमा आफ्नो अनलाइन गतिविधि कसरी लुकाउने ? यस्तो छ सजिलो उपाय

भाइबरमा आफ्नो अनलाइन गतिविधि कसरी लुकाउने ? यस्तो छ सजिलो उपाय

काठमाडौं । भाइबर एक लोकप्रिय मेसेजिङ एप हो । धेरै मानिसले यसको प्रयोग म्यासेज आदानप्रदान गर्न, फाइल तथा फोटो पठाउन र साथीभाइ तथा आफन्तसँग सम्पर्कमा रहन गर्दै आएका छन् । भाइबर प्रयोग गर्न मोबाइल नम्बर र इन्टरनेट आवश्यक पर्छ । यसमार्फत प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा आफन्तलाई नि:शुल्क म्यासेज पठाउनुका साथै अडियो तथा भिडियो कल गर्न सक्छन् ।

भाइबर सञ्चारका लागि मात्र नभई प्रयोगकर्ताको गोपनीयता र सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । भाइबरमा गरिने च्याट र कलहरू इन्ड-टु-इन्ड इन्क्रिप्टेड हुने भएकाले कुराकानी गर्ने दुई व्यक्तिबाहेक तेस्रो पक्ष वा स्वयं भाइबरले समेत ती कुराकानी हेर्न वा सुन्न नसक्ने कम्पनीको दाबी छ ।

यसका साथै, यदि तपाईं आफू अनलाइन आएको वा कसैले पठाएको म्यासेज आफूले पढिसकेको कुरा अरूलाई थाहा नदिन चाहनुहुन्छ भने भाइबरमा त्यसका लागि विशेष प्राइभेसी सेटिङ उपलब्ध छ ।

अनलाइन स्टेटस लुकाउने तरिका
आफू अनलाइन रहेको कुरा अरूलाई नदेखाउन भाइबरको Share Online Status विकल्प बन्द गर्न सकिन्छ । यसका लागि:
- सबैभन्दा पहिले मोबाइलमा भाइबर एप खोल्नुहोस् ।
- स्क्रिनको तल रहेको More (तीनवटा डट) मा थिच्नुहोस् ।
- त्यसपछि Settings मा जानुहोस् ।
- Settings भित्र रहेको Privacy विकल्पमा क्लिक गर्नुहोस् ।
- Share Online Status विकल्पलाई बन्द गरिदिनुहोस् ।

भाइबरको प्राइभेसी सेटिङअनुसार Share Online Status लाई दिनमा एकपटक मात्र परिवर्तन गर्न सकिन्छ । त्यसैले एकपटक बन्द गरेपछि पुन: अन गर्न २४ घण्टा पर्खनुपर्ने हुन्छ ।

‘सीन’ स्टेटस लुकाउने तरिका
आफूले म्यासेज पढिसकेको कुरा अरूलाई थाहा नदिन Send ‘Seen’ Status विकल्प पनि बन्द गर्न सकिन्छ । यसका लागि Privacy सेटिङमा गएर उक्त विकल्पलाई अफ गर्नुपर्छ ।

तर ध्यान दिनुपर्ने कुरा के हो भने, तपाईंले आफ्नो अनलाइन र ‘सीन’ स्टेटस लुकाउनुभयो भने आफूले पनि अरू व्यक्तिहरू अनलाइन रहेको वा उनीहरूले तपाईंको म्यासेज पढेको कुरा देख्न सक्नुहुन्न ।

यो प्राइभेसी सेटिङले प्रयोगकर्तालाई आफ्नो डिजिटल उपस्थिति नियन्त्रण गर्ने सुविधा दिन्छ । यसबाट प्रयोगकर्ताले आफू अनलाइन भएको जानकारी अरूलाई देखाउने वा नदेखाउने विषयमा आफ्नो इच्छाअनुसार निर्णय गर्न सक्छन् ।