काठमाडौं । सामाजिक सञ्जाल फेसबुक विश्वभर सर्वाधिक प्रयोग हुने लोकप्रिय प्लेटफर्ममध्ये एक हो । यसले संसारका विभिन्न ठाउँमा रहेका मानिसलाई एकअर्कासँग जोड्ने काम गर्दै आएको छ ।
फेसबुकमार्फत प्रयोगकर्ताले आफ्ना फोटो, भिडियो तथा विचार साझा गर्न सक्छन् । साथै, मेसेन्जरमार्फत निःशुल्क सन्देश आदानप्रदान, अडियो तथा भिडियो कल गर्न सकिन्छ । आफ्नो रुचिअनुसार विभिन्न फेसबुक पेज र समूहमा आबद्ध हुन सकिने भएकाले यो प्लेटफर्म सूचना तथा मनोरञ्जनको माध्यमसमेत बनेको छ ।
व्यापार व्यवसायको प्रवर्द्धनदेखि देश विदेशका ताजा समाचार तथा विभिन्न अपडेट छोटो समयमा प्राप्त गर्न पनि फेसबुक उपयोगी माध्यम बनेको छ । फेसबुकमा यस्ता थुप्रै उपयोगी फिचर छन्, जसको सही प्रयोगले आफ्नो अकाउन्टलाई थप सुरक्षित र गोप्य बनाउन सकिन्छ । यस्तैमध्ये एक हो Active Status ।
Active Status भनेको के हो ?
Active Status फेसबुक तथा मेसेन्जरमा तपाईं अनलाइन हुनुहुन्छ वा हुनुहुन्न भन्ने जानकारी देखाउने सुविधा हो । यो सुविधा सक्रिय हुँदा तपाईंका साथीहरूले तपाईंको प्रोफाइलमा देखिने हरियो थोप्लोमार्फत तपाईं अनलाइन रहेको थाहा पाउन सक्छन् ।
यदि तपाईं आफू अनलाइन रहेको जानकारी अरूलाई देखाउन चाहनुहुन्न भने Active Status बन्द गर्न सक्नुहुन्छ ।
Active Status कसरी बन्द गर्ने ?
- सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् ।
- स्क्रिनमा रहेको तीनवटा धर्का (Menu) वा आफ्नो प्रोफाइल फोटोमा थिच्नुहोस् ।
- त्यसपछि Settings & Privacy मा जानुहोस् ।
- त्यहाँ रहेको Settings विकल्पमा क्लिक गर्नुहोस् ।
- Privacy अन्तर्गत रहेको Active Status विकल्प छान्नुहोस् ।
- अन्त्यमा Show when you're active विकल्पलाई बन्द (Off) गरिदिनुहोस् ।
ध्यान दिनुपर्ने कुरा के छ भने, तपाईंले आफ्नो Active Status बन्द गर्नुभयो भने तपाईंले पनि आफ्ना साथीहरू अनलाइन छन् वा छैनन् भन्ने जानकारी देख्न सक्नुहुन्न ।
फेसबुकका अन्य उपयोगी सुरक्षा तथा गोपनीयता सेटिङ
फेसबुक अकाउन्टलाई थप सुरक्षित बनाउन र व्यक्तिगत जानकारीमा नियन्त्रण राख्न निम्न सेटिङहरू पनि उपयोगी हुन सक्छन् ।
दुई चरणको प्रमाणीकरण (Two-Factor Authentication)
यो सेटिङ सक्रिय गरेपछि कसैले तपाईंको पासवर्ड थाहा पाए पनि अतिरिक्त सुरक्षा कोड वा प्रमाणीकरणबिना सजिलै अकाउन्टमा लगइन गर्न सक्दैन ।
प्रोफाइल लक (Profile Lock)
यो सुविधाले फेसबुकका साथीबाहेक अन्य व्यक्तिले तपाईंको प्रोफाइलमा रहेका केही सामग्री तथा जानकारी हेर्नबाट सीमित गर्न मद्दत गर्छ ।
फ्रेन्ड्स लिस्ट लुकाउने
तपाईंको फेसबुकमा को–को साथी छन् भन्ने जानकारी अरूबाट लुकाउन Friends List को गोपनीयता सेटिङ परिवर्तन गर्न सकिन्छ ।
ट्याग रिभ्यु (Tag Review)
अरू कसैले तपाईंलाई कुनै फोटो वा पोस्टमा ट्याग गरेपछि त्यो सामाग्री तपाईंको प्रोफाइलमा देखाउनुअघि समीक्षा तथा अनुमति दिन सकिने सुविधा हो ।
यी सुरक्षा तथा गोपनीयता सेटिङको सही प्रयोगले फेसबुक अकाउन्टलाई थप व्यवस्थित, सुरक्षित र व्यक्तिगत बनाउन मद्दत गर्न सक्छ ।
आईसीटी समाचार