कीवर्डहरू -

यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई सहयोग

यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई सहयोग

काठमाडौं । गत भाद्र १० गते रसुवा जिल्लामा अचानक आएको बाढीले दर्जनौं पुलहरूमा क्षति पुर्‍याउनुका साथै हजारौं घरहरू डुबानमा परेका थिए । वर्षौंदेखि यी पहाडी भूभागमा जीवन बिताउँदै आएका धेरै परिवार एकै रातमा आधारभूत आवश्यकताबाट समेत वञ्चित हुँदै असहज र अनिश्चित पुन:स्थापनाको अवस्थामा पुगे । यस्तो कठिन परिस्थितिमा ब्लू स्ट्रीक्स मोटरसाइकल ग्रुपले आफ्नो राइडिङप्रतिको उत्साहलाई रसुवा र नुवाकोटका प्रभावितहरूका लागि सहयोग र आशाको अभियानमा परिणत गरेको छ ।

बाढीबाट प्रभावित परिवारलाई तत्काल सहयोग पुर्‍याउन ब्लू स्ट्रीक्सका राइडरहरूले आफ्ना सबै सदस्यहरूबाट सहयोग रकम संकलन गरेका थिए । यस क्रममा रु ९३ हजार रकम जुटाइएको थियो । कम्युनिटीले सहयोग संकलनको सम्पूर्ण प्रक्रियामा पारदर्शिता कायम राख्दै नगद तथा अनलाइनमार्फत प्राप्त सहयोगसहित दाताहरूको सूची सार्वजनिक गरेको थियो ।

संकलित रकमबाट ब्लू स्ट्रीक्सका सदस्यहरूले चामल, दाल, मिनरल वाटर तथा स्यानिटरी प्याडलगायत आवश्यक सामाग्री प्याक गरी राहत सामाग्री तयार पारेका थिए । भारी वर्षाको बीचमा पनि समूहका सदस्यहरूले राहत सामाग्री तयार गर्नुका साथै थप सामाग्री बोकेको एउटा गाडीको सहयोगमा मोटरसाइकलको समूह बनाएर त्यसलाई प्रभावित क्षेत्रसम्म पुर्‍याएका थिए ।

यस पहलका बारेमा MAW राइड्स प्रा.लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भन्नुभयो, “हाम्रा राइडरहरू राइड मात्र सँगै गर्दैनन्, समाजलाई सहयोग पनि सँगसँगै मिलेर गर्छन् । नेपालभरी भइरहेका हाम्रा CSR गतिविधि होस् वा यस्ता कठिन परिस्थिति, हाम्रो मूल मन्त्र सधैं ‘राइड टू प्राइड’ रहँदै आएको छ । ब्लू स्ट्रीक्स आवश्यक परेको समयमा आम नागरिकको साथमा निरन्तर उभिइरहनेछ ।”

राहत सामाग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिंग सेन्टरमा वितरण गरिएको थियो । त्यहाँ ब्लू स्ट्रीक्सका सदस्यहरूले बाढीपीडित परिवार, विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकासँग प्रत्यक्ष भेट गरी आवश्यक सामाग्री उपलब्ध गराएका थिए । यस कठिन समयमा उनीहरूले राहत सामाग्रीसँगै पीडित परिवारलाई हौसला र साथ समेत प्रदान गरेका थिए ।

बाढी प्रभावित क्षेत्रमा पुन:स्थापना तथा पुनर्निर्माणको काम जारी रहँदा ब्लू स्ट्रीक्सको यो पहलले साझा रुचि र समुदायप्रतिको उत्तरदायित्वलाई अर्थपूर्ण सहयोगमा रूपान्तरण गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । सङ्कटको यो कठिन घडीमा प्रभावित परिवारसम्म पुगेर गरिएको सहयोगले समुदायबीचको सहकार्य र मानवीय भावनाको महत्वलाई थप बलियो बनाएको छ ।