कीवर्डहरू -

भोटेकोशी बाढीको समाचारमा संवेदनशीलता अपनाउन सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आग्रह

भोटेकोशी बाढीको समाचारमा संवेदनशीलता अपनाउन सञ्चारमाध्यमलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडालाई समाचार बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षालाई प्राथमिकता दिन सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् ।

बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, आफन्त गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकले आश्रय लिइरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले उनीहरूको तस्वीर, भिडियो तथा व्यक्तिगत विवरण सार्वजनिक गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन् ।

उनका अनुसार विपद्को वास्तविक अवस्था नागरिकसमक्ष पुर्‍याउनु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी हो । तर त्यस क्रममा प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक अवस्थाको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण दायित्व हो ।

मन्त्री तिमिल्सिनाले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न समेत सञ्चारकर्मीलाई आग्रह गरेका छन् । विशेष गरी बालबालिका तथा अन्य संवेदनशील अवस्थामा रहेका व्यक्तिको पहिचान खुल्ने तस्वीर, भिडियो वा व्यक्तिगत विवरण उनीहरूको सहमति बिना सार्वजनिक नगर्न उनले अनुरोध गरेका छन् ।

उद्धार तथा राहत कार्यमा कुनै अवरोध नहोस् भन्नेतर्फ पनि सञ्चारमाध्यम सचेत हुनुपर्ने उनको भनाइ छ । विपद्सम्बन्धी समाचार संकलन गर्दा पीडितको अवस्था र अधिकारलाई समाचारको विषयभन्दा माथि राख्नुपर्ने उनले बताए ।

‘तथ्य र सत्य’को खोजी पत्रकारिताको आधार भए पनि त्यस क्रममा पीडितको गोपनीयता, सुरक्षा र संवेदनशीलताको मूल्य बिर्सन नहुने मन्त्री तिमिल्सिनाले बताएका छन् ।

यसैबीच भोटेकोशी बाढी तथा रसुवा, नुवाकोट र धादिङलगायत विपद् प्रभावित क्षेत्रका तस्वीर, भिडियो तथा विभिन्न सूचनाहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेका छन् ।

विपद्को समयमा अपुष्ट वा गलत सूचनाले सर्वसाधारणमा त्रास फैलाउनुका साथै उद्धार तथा राहत व्यवस्थापनमा समेत समस्या निम्त्याउन सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन मन्त्रालयले आग्रह गरेको छ ।