हुम्ला । अदानचुली गाउँपालिका ५ लगायत आसपासका क्षेत्रमा सञ्चार सेवा प्रभावित हुँदा स्थानीयले समस्या झेल्नुपरेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि सञ्चालनमा नआएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
टावर बन्द हुँदा फोन सम्पर्क गर्न तथा आवश्यक सूचना आदानप्रदान गर्न समस्या भइरहेको अदानचुली ५ का स्थानीय बालबहादुर मल्लले बताए । विशेष गरी बिरामी तथा आपत्कालीन अवस्थामा रहेका व्यक्तिका आफन्तसँग सम्पर्क गर्न कठिनाइ भएको उनको भनाइ छ ।
मल्लका अनुसार टावर लामो समयदेखि बिग्रिएको भएपनि मर्मत हुन सकेको छैन । स्थानीयले तत्काल टावर मर्मत गरी सञ्चार सेवा नियमित गर्न माग गरेका छन् । उक्त टावरले अदानचुली गाउँपालिका तथा मुगुको सोरु गाउँपालिका आसपासका क्षेत्रमा सञ्चार सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।
नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहोराका अनुसार लामो समयसम्म घाम नलाग्दा टावरमा जडान गरिएको सोलार प्रणालीमा पर्याप्त चार्ज हुन नसकेपछि सेवा सञ्चालनमा समस्या आएको हो ।
केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे जाँच गरिएको र सोलारमा पर्याप्त पावर सञ्चित हुन नसकेका कारण टावर सञ्चालन हुन नसकेको जानकारी प्राप्त भएको बोहोराले बताए ।
उनका अनुसार सोलारमा कम्तीमा ४८ घण्टासम्म पर्याप्त घाम लागेर राम्रोसँग चार्ज भए टावर पुन: सञ्चालनमा आउनेछ । सिमकोटमै पनि सोलारमा आवश्यक पावर सञ्चित हुन नसक्दा पछिल्लो समय दैनिक ६ देखि ८ घण्टासम्म सञ्चार सेवा अवरुद्ध हुने गरेको सूचना अधिकारी बोहोराले जानकारी दिए ।
आईसीटी समाचार