काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार पूर्वाधारमा प्रारम्भिक अनुमानअनुसार करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध दूरसञ्चार सेवा क्रमश: पुन: सञ्चालनमा ल्याइएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार क्षतिग्रस्त अधिकांश मोबाइल टावर मर्मत गरी सेवा सुचारु गरिएको छ ।
प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० मध्ये ११६ वटा मोबाइल टावर सञ्चालनमा आइसकेका छन् । त्यस्तै, एनसेलका ७८ मध्ये ७६ वटा टावर पुन: सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।
पुन: सञ्चालनमा आएका टावरमार्फत अधिकांश प्रभावित क्षेत्रमा मोबाइल कभरेज उपलब्ध गराइएको छ । यसबाट विपद्का बेला आवश्यक पर्ने फोन तथा अन्य दूरसञ्चार सेवा सञ्चालनमा सहजता भएको प्राधिकरणको भनाइ छ ।
विद्युत् नहुँदा जेनेरेटरबाट टावर सञ्चालन
बाढीका कारण कतिपय क्षेत्रमा विद्युत् प्रसारण लाइनसमेत अवरुद्ध भएकाले मोबाइल टावर सञ्चालनका लागि जेनेरेटर प्रयोग गर्नुपरेको छ । त्यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग समन्वय गरी आवश्यक इन्धन प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
आपत्कालीन सञ्चारका लागि स्याटेलाइट फोन र इन्टरनेट
नियमित दूरसञ्चार सेवा प्रभावित भएका स्थानमा वैकल्पिक सञ्चार माध्यमको व्यवस्था गरिएको छ । प्राधिकरणका अनुसार ३० वटा स्याटेलाइट फोन सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट प्राप्त २० र एनसेलबाट प्राप्त १० वटा स्याटेलाइट फोन एनडीआरआरएमएलाई हस्तान्तरण गरिएको छ ।
त्यस्तै, बाढी प्रभावित रसुवा र नुवाकोटमा २९ वटा लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट इन्टरनेट टर्मिनल प्रयोगमा ल्याउने व्यवस्था गरिएको छ । तीमध्ये २५ वटा एनसेल र चार वटा डिशहोममार्फत आयात गरिएका टर्मिनल हुन् । यी उपकरण जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक स्थानमा प्रयोग गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, रसुवा र नुवाकोटका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ हटलाइनमा थप तीन लाइन जडान गरिएको छ । रसुवामा दुई र नुवाकोटमा एक लाइन थप गरी सूचना तथा गुनासो संकलन गर्ने क्षमता बढाइएको हो ।
क्षतिको थप विवरण संकलन हुँदै
दूरसञ्चार क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ । सेवा प्रदायक कम्पनीहरूबाट थप विवरण लिएर क्षतिग्रस्त पूर्वाधार तथा संरचना यथाशीघ्र पुन:स्थापना गर्ने तयारी भइरहेको छ ।
प्राधिकरणका अनुसार हालसम्म प्राप्त प्रारम्भिक विवरणले दूरसञ्चार पूर्वाधारमा करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको देखाएको छ । बाढीपछि मोबाइल सेवा प्रदायकमार्फत एसएमएस तथा सीआरबीटी प्रणालीबाट विपद्सम्बन्धी सूचना प्रवाह गरिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धार कार्यमा सहयोग पुग्ने सन्देशसमेत सर्वसाधारणसम्म पुर्याइएको छ ।
संवेदनशील फोटो–भिडियो पोस्ट नगर्न आग्रह
प्राधिकरणले बाढी तथा पहिरोमा ज्यान गुमाएका वा घाइते भएका व्यक्तिका संवेदनशील तथा हृदयविदारक फोटो–भिडियो सामाजिक सञ्जाल वा वेबसाइटमा सार्वजनिक नगर्न आग्रह गरेको छ । यस्ता सामाग्रीले पीडित परिवार तथा सर्वसाधारणको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने प्राधिकरणको भनाइ छ ।
त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा अन्य राहत कोषका नाममा नक्कली क्यूआर कोड र अनधिकृत लिंकमार्फत हुन सक्ने वित्तीय ठगीबाट सचेत रहन समेत प्राधिकरणले आग्रह गरेको छ । राहत रकम पठाउँदा आधिकारिक खाता तथा माध्यम मात्र प्रयोग गर्न अनुरोध गरिएको छ ।
उद्धार कोषमा १५ करोड सहयोग गर्ने निर्णय
बाढीबाट सिर्जित विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग पुर्याउन नेपाल दूरसञ्चार प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
साथै, दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई पनि विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गर्ने निर्णय प्राधिकरणले गरेको छ ।
प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा मोबाइल वा इन्टरनेट सेवा अवरुद्ध भएमा सम्बन्धित सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरण वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ हटलाइनमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
आईसीटी समाचार