कीवर्डहरू -

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा आवेदन आह्वान

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा आवेदन आह्वान

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरेको छ । कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र कार्यकारी निर्देशक छनोट समितिले योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।

समितिले जारी गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । सूचना २०८३ साल भदौ १९ गते प्रकाशित भएको हो ।

कार्यकारी निर्देशक पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ । साथै, कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी/अस्थायी बसोबास अनुमति (पीआर, ग्रिनकार्ड वा डीभी) प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन नपाउने सूचनामा उल्लेख छ ।

त्यस्तै, उम्मेदवारले सूचना प्रविधिसँग सम्बन्धित कुनै पनि विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । सूचना प्रविधिको क्षेत्रमा कम्तीमा १० वर्षको कार्य अनुभव र त्यसमा कम्तीमा ५ वर्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रमुख प्रविधि अधिकृत (सीटीओ), प्रमुख सूचना अधिकृत (सीआईओ) वा सो सरहको पदमा काम गरेको अनुभव आवश्यक पर्नेछ ।

आवेदनसँगै तोकिएको ढाँचामा भरिएको आवेदन फाराम, उम्मेदवारको स्वघोषणा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको नोटरी प्रमाणित प्रतिलिपि तथा विदेशबाट अध्ययन गरेको भए समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

यसैगरी, पद, कामको विवरण र कार्यअवधि खुल्ने अनुभवसम्बन्धी कागजात, विस्तृत बायोडाटा/सीभी तथा तोकिएको ढाँचाअनुसारको बिजनेस एक्सन प्लान समेत बुझाउनुपर्नेछ ।

प्राप्त आवेदनबाट छनोट समितिले निर्धारित मापदण्डका आधारमा उम्मेदवारको सर्टलिस्ट तयार गर्नेछ । सर्टलिस्टमा परेका उम्मेदवारलाई बिजनेस एक्सन प्लानमा प्रस्तुतीकरणका लागि बोलाइनेछ र त्यसपछि अन्तर्वार्ता लिइनेछ ।

मूल्यांकनका आधारमा उत्कृष्ट तीन जना उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गरिनेछ । तीमध्ये उपयुक्त उम्मेदवारलाई नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट कार्यकारी निर्देशक पदमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाका सर्त तथा सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने जनाइएको छ । निर्धारित ढाँचामा प्राप्त नभएका आवेदन अस्वीकृत हुनेछन् । आवेदन फाराम तथा आवश्यक निर्देशिका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।