काठमाडौं । गुगलले मौसमको पूर्वानुमानलाई अझ छिटो र सटीक बनाउने उद्देश्यले नयाँ एआई मोडल सार्वजनिक गरेको छ । गुगलको डीपमाइन्ड र रिसर्च टोलीले विकास गरेको ‘वेदरनेक्स्ट ३’ले स्थानीय स्तरसम्मको मौसम पूर्वानुमान गर्न सक्ने कम्पनीले जनाएको छ ।
गुगलका अनुसार वेदरनेक्स्ट ३ हालसम्मकै उन्नत विश्वव्यापी मौसम पूर्वानुमान प्रणालीमध्ये एक हो । यसले स्याटेलाइट अवलोकन, मौसम स्टेसनलगायत स्रोतबाट प्राप्त तथ्यांक विश्लेषण गरी हरेक घण्टाको मौसम पूर्वानुमान तयार गर्न सक्छ ।
पाँच किलोमिटरसम्मको क्षेत्रमा पूर्वानुमान
नयाँ एआई मोडलको प्रमुख विशेषता यसको उच्च रिजोल्युसन हो । वेदरनेक्स्ट ३ ले करिब ५ किलोमिटरसम्मको ग्रिडमा मौसमको पूर्वानुमान गर्न सक्ने गुगलले जनाएको छ ।
यसअघिको वेदरनेक्स्ट २ ले अधिकतम २५ किलोमिटरको ग्रिडमा पूर्वानुमान गर्ने गरेको थियो । नयाँ मोडलमा रिजोल्युसन बढाइएपछि कुनै निश्चित क्षेत्रको तापक्रम, आर्द्रता, वर्षा तथा अन्य मौसमी अवस्थाबारे थप विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।
विशेष गरी मौसम तीव्र रूपमा परिवर्तन हुने अवस्थामा नयाँ प्रणालीले वास्तविक समयका तथ्यांकलाई विश्लेषण गरेर पूर्वानुमानलाई छिटो अद्यावधिक गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । यसले परम्परागत मौसम पूर्वानुमान प्रणालीमा देखिने समय ढिलाइ समेत घटाउन सक्ने गुगलको दाबी छ ।
सर्चदेखि जेमिनीसम्म प्रयोग गर्ने योजना
वेदरनेक्स्ट ३ लाई प्रयोगकर्ताले छुट्टै मौसम एपका रूपमा मात्र प्रयोग गर्नुपर्ने छैन । गुगलले यसलाई आफ्ना विभिन्न उत्पादन तथा सेवामा समावेश गर्ने योजना बनाएको छ ।
कम्पनीका अनुसार नयाँ एआई मोडललाई गुगल सर्च, गुगल म्याप्स र जेमिनी जस्ता सेवामा प्रयोग गरिनेछ । साथै, क्लाउड सेवा र डेभलपर प्लेटफर्ममार्फत पनि यसको मौसम पूर्वानुमान प्रविधि उपलब्ध गराउने योजना गुगलको छ ।
यसका कारण प्रयोगकर्ताले आफू रहेको स्थानको दैनिक मौसम, वर्षाको सम्भावना तथा अन्य मौसमी अवस्थाबारे अझ स्थानीय र समयसापेक्ष जानकारी प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।
कृषि र विपद् व्यवस्थापनमा पनि उपयोगी
गुगलले वेदरनेक्स्ट ३ लाई दैनिक मौसम जानकारीमा मात्र सीमित नराखी विभिन्न क्षेत्रमा उपयोग गर्न सकिने जनाएको छ । कृषि, नवीकरणीय ऊर्जा, यातायात र विपद् पूर्वतयारीजस्ता क्षेत्रमा यसको उच्च रिजोल्युसनको मौसम तथ्यांक उपयोगी हुन सक्ने कम्पनीको भनाइ छ ।
बाढी, भारी वर्षा तथा अन्य चरम मौसमी घटनाको पूर्वानुमान र विश्लेषणमा पनि यस्ता प्रविधिबाट प्राप्त तथ्यांकले सहयोग गर्न सक्छ । नेपालजस्ता मनसुन प्रभावित मुलुकमा स्थानीय स्तरको मौसम पूर्वानुमान र विपद् पूर्वतयारीका लागि यस्तो प्रविधि विशेष रूपमा उपयोगी हुन सक्ने देखिन्छ ।
गुगलले पछिल्लो समय मौसमसँग सम्बन्धित सुविधालाई आफ्ना विभिन्न उत्पादनमा विस्तार गर्दै आएको छ । कम्पनीले भूकम्पको पूर्वसूचना तथा यात्रा गर्दा हुने मोसन सिकनेस कम गर्न सहयोग गर्ने सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
यीमध्ये केही सुविधा हाल पिक्सेल फोनमा उपलब्ध छन् भने भविष्यमा अन्य प्रयोगकर्तामाझ विस्तार गर्ने योजना रहेको छ ।
आईसीटी समाचार