कीवर्डहरू -

एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रोक बोट सार्वजनिक, यस्ता छन् सुविधा

एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रोक बोट सार्वजनिक, यस्ता छन् सुविधा

काठमाडौं । एआई एजेन्ट ग्रोक बोट (Grok Bot) अब एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । यसअघि यो macOS, iOS र Linux लगायतका प्लेटफर्ममा उपलब्ध थियो ।

ग्रोक बोटले प्रयोगकर्ताले दिएको निर्देशनअनुसार विभिन्न काम आफैं गर्न सक्छ । यसलाई ‘Always-on AI Agent’ का रूपमा प्रयोग गर्न सकिन्छ, जसले विभिन्न डिभाइस तथा प्लेटफर्मबाट दिइएका निर्देशनअनुसार काम गर्ने क्षमता राख्छ ।

अन्य एआई एजेन्टजस्तै ग्रोक बोटले पनि प्रयोगकर्ताका दैनिक तथा दोहोरिरहने कामलाई स्वचालित बनाउन सहयोग गर्छ । एआईले सामान्य र कम महत्त्वपूर्ण काम आफैं गरिदिएपछि प्रयोगकर्ताले आफ्नो समय र ध्यान बढी महत्त्वपूर्ण काममा केन्द्रित गर्न सक्छन् ।

ग्रोक बोटलाई विभिन्न एपसँग काम गर्न र क्लाउड प्रणालीमार्फत सञ्चालन गर्न सकिने गरी विकास गरिएको छ । यसका कारण प्रयोगकर्ताले आफ्नो डिभाइसमा प्रत्यक्ष रूपमा काम गराइरहनुपर्ने आवश्यकता कम हुन्छ ।

यसको अर्को विशेषता भनेको डिभाइस बन्द वा अफलाइन अवस्थामा हुँदा पनि तोकिएका कामलाई क्लाउडमार्फत निरन्तरता दिन सक्नु हो । फाइल तथा लगइनसम्बन्धी विवरण क्लाउडमा सुरक्षित राखिने भएकाले प्रयोगकर्ताले फोन वा कम्प्युटरबाटै मेसेज पठाएर ग्रोक बोटलाई कामको निर्देशन दिन सक्छन् ।

ग्रोक बोटलाई ग्रुप च्याटमा समेत प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले यसलाई कुनै कामको जिम्मेवारी दिएर आफू अन्य काममा व्यस्त हुन सक्छन् । यसले एआई एजेन्टलाई व्यक्तिगत सहायकका रूपमा प्रयोग गर्ने सम्भावनालाई थप विस्तार गरेको छ ।

ग्रोक बोट हाल गुगल प्ले स्टोर मार्फत एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । तर यसको पूर्ण सुविधा प्रयोग गर्न SuperGrok, SuperGrok Plus, Cursor Pro, Pro+ वा Ultra जस्ता सम्बन्धित सब्सक्रिप्सन आवश्यक पर्ने बताइएको छ ।

हाल सीमित प्रयोगकर्ताका लागि उपलब्ध सुविधा विस्तार गर्दै अन्य प्रयोगकर्ता समेत क्रमश: ग्रोक बोट प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।