काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फाइबर नेटवर्कमा गम्भीर क्षति पुगेकोमा पहिलो चरणको नेटवर्क पुन:सञ्चालन कार्य सम्पन्न भएको छ ।
बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक/एक गरी दुईवटा ओएलटी (OLT), रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँचवटा एफडीसी (FDC) तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल (Aerial Optical Fiber Cable) बगाएका थिए । यसबाट उक्त क्षेत्रका कुल १ हजार ५४४ वटा एफटीटीएच (FTTH) लाइन पूर्ण रूपमा प्रभावित भएका थिए ।
विपद्लगत्तै प्राविधिक जनशक्ति तथा आवश्यक स्रोत साधन परिचालन गरी मर्मत तथा पुन:सञ्चालन कार्यलाई तीव्रता दिइएको थियो । हालसम्म प्रभावितमध्ये १ हजार ९३ वटा एफटीटीएच लाइन पुन:सञ्चालनमा आएसँगै पहिलो चरणको सेवा पुन:सञ्चालन कार्य सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ ।
बाँकी रहेका लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता तथा ग्राहकको मागलाई आधार बनाएर क्रमश: पुन:सञ्चालनमा ल्याइनेछ ।
प्राकृतिक विपद्बाट उत्पन्न विषम परिस्थितिमा सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता र विश्वासप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ ।
आईसीटी समाचार