कीवर्डहरू -

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढी प्रभावितलाई ३ करोड ५१ लाख सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढी प्रभावितलाई ३ करोड ५१ लाख सहयोग

काठमाडौं । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

नगद सहयोगसँगै कम्पनीले बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ समेत वितरण गरेको जनाएको छ ।

कम्पनीका अनुसार प्रभावित क्षेत्र तथा पीडितलाई राखिएका आश्रयस्थलमा आवश्यक राहत सामग्रीका रूपमा चाउचाउ पठाएर सम्बन्धित निकायमार्फत प्रभावित नागरिकलाई वितरण गरिएको हो ।

बाढीबाट प्रभावित क्षेत्रमा आवश्यकता देखिए थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउने कम्पनीले जनाएको छ । विपद्का बेला आवश्यक पर्ने अन्य सहयोगका लागि समेत तयार रहेको यशोदा ग्रुपले जनाएको छ ।