कीवर्डहरू -

विदेशी लगानीको केन्द्र बन्दै सूचना प्रविधि, ७२७ परियोजना अघि बढ्दै

विदेशी लगानीको केन्द्र बन्दै सूचना प्रविधि, ७२७ परियोजना अघि बढ्दै

काठमाडौं । नेपालमा विदेशी लगानीकर्ताको प्राथमिकता सूचना प्रविधितर्फ बढ्दै गएको देखिएको छ । उद्योग विभागमा परेको लगानी प्रतिबद्धताको विवरणले नेपालमा विदेशी लगानीका लागि सूचना प्रविधि क्षेत्र आकर्षक बन्दै गएको देखाएको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विभिन्न क्षेत्रमा सञ्चालित तथा प्रस्तावित १ हजार ११६ परियोजनाका लागि ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । कुल परियोजनामध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ परियोजना छन् ।

त्यस अवधिमा पर्यटन क्षेत्रमा २२७ परियोजनाका लागि विदेशी लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै, सेवामूलक क्षेत्रमा ७१, उत्पादनमूलक क्षेत्रमा ६३ र कृषिमूलक क्षेत्रमा १८ परियोजनाका लागि लगानी प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ ।

परियोजनाको संख्याका आधारमा हेर्दा सूचना प्रविधि क्षेत्र अन्य क्षेत्रभन्दा निकै अगाडि देखिएको  छ। डिजिटल सेवा, प्रविधिमा आधारित व्यवसाय तथा सूचना प्रविधिसँग सम्बन्धित परियोजनामा विदेशी लगानीकर्ताको रुचि बढ्दै गएको विभागको तथ्यांकले देखाउँछ ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८४२ परियोजनाका लागि ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा परियोजनाको संख्या बढेपनि कुल लगानी प्रतिबद्धताको रकम भने केही घटेको देखिन्छ ।

उद्योग विभागले नेपालमा लगानीको वातावरणमा आएको सुधार, लगानी सुरक्षाप्रतिको विश्वास तथा नीतिगत प्रक्रियामा भएको सहजताका कारण विदेशी लगानीकर्ताको चासो बढेको जनाएको छ ।

विशेष गरी सूचना प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा कम पूर्वाधार लागत, दक्ष जनशक्तिको उपलब्धता र विश्वव्यापी रूपमा बढ्दो डिजिटल अर्थतन्त्रसँग जोडिन सकिने सम्भावनाले विदेशी लगानी आकर्षित गर्न योगदान पुर्‍याएको देखिन्छ ।

विभागका अनुसार सूचना प्रविधिसहित पर्यटन, उत्पादन, सेवा र कृषि क्षेत्रमा आएको विदेशी लगानी प्रतिबद्धताले नेपालको लगानी वातावरणप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको चासो कायम रहेको संकेत गरेको छ ।