इलाम । सीमित जनशक्तिका बीच इलामको देउमाई नगरपालिकाले पूर्वाधार, डिजिटल सेवा, शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधारका कामलाई अघि बढाएको छ । नगरपालिकाको पछिल्लो विवरणअनुसार एक वर्षमा ७७ करोड ८८ लाख १६ हजार रुपैयाँको बजेटमध्ये ५८ करोड ३९ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।
कुल बजेटको करिब ७६ प्रतिशत खर्च हुँदा नगरपालिकाले सडक, नाला, स्वास्थ्य पूर्वाधार तथा अन्य विकास योजनालाई कार्यान्वयन गरेको जनाएको छ । तर, सेवा प्रवाहका लागि स्वीकृत जनशक्तिको ठूलो हिस्सा अझै अपुग छ ।
नगरपालिकामा स्वीकृत १०८ दरबन्दीमध्ये ६३ पद रिक्त छन् । हाल १९ स्थायी र २६ करार गरी ४५ जना कर्मचारी कार्यरत छन् । कर्मचारी व्यवस्थापनलाई पुनर्संरचना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
सडकदेखि अस्पतालसम्म पूर्वाधार विस्तार
नगरपालिकाले पछिल्लो आर्थिक वर्षमा २०८ वटा योजना तथा कार्यक्रम सञ्चालन गरेको थियो । तीमध्ये ६२ नगरस्तरीय र १४६ वडास्तरीय योजना थिए । योजनाको कार्यान्वयनमा उपभोक्ता समितिको भूमिका ठूलो देखिन्छ । ११६ योजना उपभोक्ता समितिमार्फत सञ्चालन हुँदा ४२ वटा ठेक्काबाट र ३० वटा अन्य माध्यमबाट कार्यान्वयन गरिएको थियो ।
पूर्वाधारतर्फ ९.५ किलोमिटर सडकमा सोलिङ, १४.३ किलोमिटरमा ग्राभेल तथा स्तरोन्नति र ३.६ किलोमिटर पक्की नाला निर्माण गरिएको छ । ३०० किलोमिटरभन्दा बढी सडक मर्मतसम्भार पनि गरिएको नगरपालिकाको विवरणमा उल्लेख छ ।
स्वास्थ्य पूर्वाधारतर्फ नगर अस्पताल निर्माणको काम ८९ प्रतिशत पूरा भएको छ । १३ करोड ९५ लाख रुपैयाँको ठेक्का सम्झौतामा निर्माण भइरहेको अस्पतालको कार्यान्वयन अवधि २०८३–०७–३० सम्म रहेको छ ।
सामाजिक क्षेत्रमा सबैभन्दा बढी खर्च
क्षेत्रगत बजेटमा सामाजिक विकासले सबैभन्दा ठूलो हिस्सा पाएको छ । यस क्षेत्रमा ४१ करोड ७ लाख ६१ हजार रुपैयाँ विनियोजन भएकामा ३५ करोड ४७ लाख ४९ हजार रुपैयाँ खर्च भएको छ । खर्चको दर ८५.५ प्रतिशत छ ।
पूर्वाधार विकासका लागि छुट्याइएको १७ करोड १ लाख ४४ हजार रुपैयाँमध्ये ११ करोड ६९ लाख ४२ हजार खर्च भएको छ । आर्थिक विकासतर्फ ३ करोड ३ लाख ३३ हजार रुपैयाँमध्ये १ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनमा १३ करोड ८५ लाख २ हजार रुपैयाँ बजेट रहेकामा ८ करोड १७ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । शासन तथा संस्थागत विकासतर्फ २ करोड ९० लाख ७४ हजार रुपैयाँमध्ये १ करोड २३ लाख ४६ हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
कागजरहित प्रशासन र अनलाइन सेवा
देउमाईले प्रशासनिक कामलाई प्रविधिमैत्री बनाउने प्रयास समेत थालेको छ । नगरपालिकाका कार्यपालिका बैठक कागजरहित बनाइएको छ भने बैठकको प्रत्यक्ष प्रसारण गर्ने अभ्याससमेत गरिएको छ । करसम्बन्धी सेवा अनलाइनबाट उपलब्ध गराइएको छ ।
‘सूत्र’ र पीएएमएसजस्ता डिजिटल प्रणालीको प्रयोग, नागरिक वडापत्र, सूचना अधिकारी तथा गुनासो व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्ने प्रयास भइरहेको नगरपालिकाको भनाइ छ । स्थानीय शासन कार्यसम्पादन मूल्यांकनमा नगरपालिकाले ७४.६ अंक प्राप्त गरेको छ ।
न्यायिक समितिमा २९ उजुरी
स्थानीय विवाद समाधानका लागि रहेको न्यायिक समितिमा २९ वटा उजुरी परेकोमा १६ वटामा निर्णय वा आवश्यक कारबाही भएको छ । तीनवटा विषयमा पुनरावेदन परेको र चारवटा प्रक्रिया अघि बढिरहेको नगरपालिकाले जनाएको छ ।
आर्थिक अनुशासनतर्फ पनि बेरुजु फर्छ्योटलाई प्राथमिकता दिइएको छ । २०८२/८३ को २ लाख ७३ हजार रुपैयाँ बेरुजु फर्छ्योट गरिएको छ । २०८३/८४ को ३६ लाख २३ हजार रुपैयाँ बेरुजु फर्छ्योट गर्न बाँकी रहेको विवरणमा उल्लेख छ ।
शिक्षामा ६४ विद्यालय
नगरपालिकाभित्र ६४ विद्यालय सञ्चालनमा छन् । तीमध्ये १४ संस्थागत विद्यालय हुन् । नगरको साक्षरता दर ८३.४ प्रतिशत रहेको छ । प्राविधिक शिक्षातर्फ ६ विषय सञ्चालनमा छन् भने एउटा सामुदायिक क्याम्पस पनि रहेको नगरपालिकाले जनाएको छ ।
स्थानीय कला तथा संस्कृतिको संरक्षणका लागि साकेला, धान नाच र मारुनीलगायतका परम्परागत गतिविधि सञ्चालन हुँदै आएका छन् । दशैं, तिहार, तीज, माघे संक्रान्ति, साकेला उधौली उभौली तथा ल्होसारजस्ता पर्व पनि स्थानीयस्तरमा मनाइन्छन् ।
विपद् र रोजगारी मुख्य चुनौती
भौगोलिक अवस्थाका कारण देउमाईले पहिरो, बाढी र कटानको जोखिम सामना गर्दै आएको छ । २०८२ असोज १८ गतेको भारी वर्षापछि नगरपालिकाले क्षति मूल्यांकन, उद्धार तथा राहत, सडक खुलाउने र अत्यावश्यक पूर्वाधारको अस्थायी पुन:स्थापनाका काम अघि बढाएको थियो ।
नगरपालिकाले कृषि, पशुपालन, नगदेबाली, सीप विकास तथा घरेलु उद्योग प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ । किसान समूह तथा सहकारीमार्फत कृषि उत्पादन बढाउने र स्थानीय उद्यमलाई प्रोत्साहन गर्ने प्रयास पनि भइरहेको छ ।
यद्यपि आन्तरिक आम्दानीको सीमितता, विकास बजेटको अभाव, युवाको बाहिरिने क्रम र स्थानीय रोजगारीको कमी प्रमुख चुनौतीका रूपमा छन् । वन्यजन्तुबाट हुने क्षति तथा प्राकृतिक विपद्को जोखिम पनि नगरपालिकाले सामना गरिरहेको छ ।
आगामी दिनमा कृषि, पर्यटन, जडीबुटी र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने तथा निजी क्षेत्र, सहकारी र विकास साझेदारसँग सहकार्य बढाउने नगरपालिकाको योजना छ ।
आईसीटी समाचार