कीवर्डहरू -

पर्सा घुम्न जाने पर्यटकलाई प्रहरीको डिजिटल सुविधा, गन्तव्यदेखि होटलसम्मको जानकारी पाइने

पर्सा घुम्न जाने पर्यटकलाई प्रहरीको डिजिटल सुविधा, गन्तव्यदेखि होटलसम्मको जानकारी पाइने

पर्सा । पर्सा जिल्लामा पर्यटन प्रवर्द्धन तथा पर्यटकको सुरक्षा र सहजीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका प्रमुख ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा पर्यटकीय स्थलको विवरण समेटिएको क्यूआर कोडसहितको अनलाइन साइट सञ्चालनमा ल्याएको छ ।

प्रहरीका अनुसार साइटमा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यसम्म पुग्न लाग्ने अनुमानित समय, वीरगन्जबाटको दूरी र यात्रा समय, सडक तथा यातायातको अवस्था लगायतका जानकारी उपलब्ध गराइएको छ ।

त्यस्तै, पर्यटकका लागि आवश्यक खाना तथा नास्ता र बसोबासको सुविधा उपलब्ध हुने होटल, रेस्टुरेन्ट तथा रिसोर्टको विवरण पनि साइटमा समावेश गरिएको छ । सम्बन्धित पर्यटकीय स्थलको नजिक रहेका प्रहरी कार्यालय, सम्पर्क नम्बर तथा अस्पतालको जानकारी समेत राखिएको प्रहरीले जनाएको छ ।

पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले सम्बन्धित स्थलको गुगल नक्सा लिंक समेत साइटमा उपलब्ध गराइएको छ । क्यूआर कोड स्क्यान गरेपछि पर्यटकले मोबाइलबाटै आवश्यक जानकारी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

प्रहरीका अनुसार साइटले जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो गन्तव्य छनोट गर्नेदेखि यात्रा व्यवस्थापन, सुरक्षा, आवास तथा आकस्मिक अवस्थामा आवश्यक सेवा प्राप्त गर्नसम्म सहजीकरण गर्नेछ ।