कीवर्डहरू -

इन्टरनेट प्याकेज र शुल्कमा प्राधिकरणको निगरानी, १४ सेवा प्रदायक कारबाहीमा

इन्टरनेट प्याकेज र शुल्कमा प्राधिकरणको निगरानी, १४ सेवा प्रदायक कारबाहीमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्त उल्लङ्घन गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराउने, तोकिएको भन्दा बढी शुल्क असुल्ने, स्वीकृतिबिना फरक प्याकेज बनाएर बिक्री गर्ने तथा प्याकेजसम्बन्धी जानकारी निर्धारित समयमा सेवाग्राहीलाई नदिने कम्पनीमाथि कारबाही गरिएको हो । प्राधिकरणको निर्देशन पालना नगरेको विषय पनि कारबाहीको आधार बनेको छ ।

प्राधिकरणले स्वीकृत इन्टरनेट गति र प्याकेजअनुसार सेवा नदिनु तथा स्वीकृत दरभन्दा बढी शुल्क लिनु उपभोक्ताको हितविपरीत भएको जनाएको छ । यस्ता गतिविधि नियन्त्रण गरी सेवाग्राहीको अधिकार संरक्षण गर्न कारबाही गरिएको प्रवक्ता अर्यालले बताएका छन् ।

कुन-कुन कम्पनी कारबाहीमा परे ?
प्राधिकरणका अनुसार जरिवानामा पर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालि, क्लासिक टेक प्रालि, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, फाइबरवर्ल्ड कम्युनिकेसन प्रालि, भायानेट कम्युनिकेसन्स लिमिटेड, एरोनेट प्रालि, डिश मिडिया नेटवर्क लिमिटेड, वाइफाइ नेपाल प्रालि, सिजी कम्युनिकेसन लिमिटेड, वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड, फर्स्ट लिङ्क कम्युनिकेसन प्रालि, पोखरा इन्टरनेट प्रालि, टेकमाइन्ड्स नेटवर्क लिमिटेड र सुबिसु लिमिटेड रहेका छन् । यी सबै कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको हो ।

स्वीकृतिबिनाका प्याकेज बन्द गर्न निर्देशन
प्राधिकरणले स्वीकृति नलिई सञ्चालनमा ल्याइएका इन्टरनेट सेवा प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

त्यस्ता गतिविधिका कारण कुनै ग्राहकलाई हानिनोक्सानी पुगेको भए ग्राहकको मागका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन वा हानिनोक्सानीको बिगो भराउनसमेत प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम सेवा प्रदायकले प्रस्तावित दर र लागू हुने मितिसहितको विवरण कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्छ । तर, केही कम्पनीले उक्त व्यवस्थाको पालना नगरेको पाइएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि नयाँ सेवा प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन र स्वीकृतिबिना प्याकेज सञ्चालन नगर्न सचेत गराएको छ ।

इन्टरनेट शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति
यसअघि असोज २४ गते प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको थियो । सेवा प्रदायकबाट शुल्क बढाउने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको जनाएको थियो ।

त्यस अवसरमा प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क असुल्ने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको थियो । साथै, सेवा प्रदायकले स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने व्यवस्थासमेत स्मरण गराएको थियो ।

स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ ।

उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धाको प्रवर्द्धन तथा इन्टरनेट सेवालाई व्यवस्थित बनाउन प्रचलित कानुन र अनुमतिपत्रका सर्तअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।