काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई जिम्मेवार सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले असोज २७ गते सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई फोकल पर्सनको नाम, पद, मोबाइल नम्बर र २४ सै घण्टा निगरानी हुने ड्युटी इमेल ठेगाना उपलब्ध गराउन भनेको हो ।
बैंक तथा वित्तीय संस्थाले तोकिएको व्यक्तिको विवरण नेपाल प्रहरी प्रधान कार्यालयको [email protected] इमेल ठेगानामा पठाउनुपर्ने सूचनामा उल्लेख छ । राष्ट्र बैंकका अनुसार चाडपर्वका समयमा सार्वजनिक बिदा हुने भएकाले विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनामा तत्काल समन्वय गर्न यस्तो व्यवस्था गरिएको हो ।
बिदाका अवधिमा साइबर ठगी वा स्क्यामका घटना भएमा कारोबारको विवरण समयमै उपलब्ध गराउन, शंकास्पद खाता तथा कारोबार पहिचान गर्न र त्यस्ता खाता तथा कारोबार तत्काल रोक्का गर्न फोकल पर्सनको व्यवस्था गर्न लागिएको हो ।
यस व्यवस्थाले बैंक तथा वित्तीय संस्था र प्रहरीबीच समन्वय सहज बनाउँदै शंकास्पद कारोबारमाथि तत्काल अनुसन्धान अघि बढाउन सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।
आईसीटी समाचार