कीवर्डहरू -

युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन

युवा उद्यमी बन्न चाहनुहुन्छ ? राष्ट्रिय युवा परिषद्ले खुलायो आवेदन

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले नवीनतम तथा सिर्जनशील व्यावसायिक सोच भएका युवालाई उद्यमी बनाउन युवा नवप्रवर्तन तथा इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार १६ देखि ४० वर्षसम्मका नेपाली नागरिकलाई लक्षित गरी पाँचदिने कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम २०८३ साल मंसिर महिनामा सञ्चालन हुने परिषद्ले जनाएको छ ।

परिषद्को सूचनाअनुसार कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन इच्छुक युवाले २०८३ कार्तिक ३० गते सोमबारसम्म गुगल फाराम भर्नुपर्नेछ ।

कार्यक्रमअन्तर्गत सूचना तथा सञ्चार प्रविधि र उद्योग प्रवर्द्धनका लागि प्रविधि विकाससम्बन्धी क्षेत्रलाई प्राथमिकता दिइएको छ । सहभागी छनोट आवेदकले पेस गरेको निवेदनमा उल्लेखित विवरणका आधारमा गरिने परिषद्ले जनाएको छ ।

कार्यक्रममा २५ जना युवालाई सहभागी गराइनेछ । आवेदन दिन इच्छुकले राष्ट्रिय युवा परिषद्को आधिकारिक वेबसाइट https://nyc.gov.np मा उपलब्ध गुगल फाराममार्फत आवश्यक विवरण भर्नुपर्नेछ । आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि परिषद्ले सूचनामा सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ । पोखरा, चितवन र हेटौँडामा सञ्चालन हुने कार्यक्रमबारे भने पछि सूचना प्रकाशित गरिने परिषद्ले जनाएको छ ।

युवामा उद्यमशील सोचको विकास, प्रविधिमा आधारित व्यावसायिक अवधारणाको प्रवर्द्धन तथा नयाँ उद्यम स्थापना गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

null