कीवर्डहरू -

चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने

चितवन निकुञ्जमा अनलाइन टिकटको व्यवस्था, क्यूआर कोड देखाएर प्रवेश गर्न सकिने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकले अब घरबाटै अनलाइनमार्फत प्रवेश टिकट काट्न सक्ने भएका छन् । निकुञ्जले टिकट खरिद प्रक्रियालाई सहज र छरितो बनाउने उद्देश्यले ई-टिकटिङ प्रणाली सञ्चालनमा ल्याएको हो ।

पहिलो चरणमा सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने पर्यटकका लागि अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ । यसको परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्य प्रवेश नाकामा समेत सेवा विस्तार गरिने निकुञ्जले जनाएको छ ।

यसअघि निकुञ्ज प्रवेशका लागि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायीले भौतिक रूपमा उपस्थित भएर नगद भुक्तानी गर्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थाले टिकट काट्न लाग्ने समय र झन्झट कम गर्नुका साथै प्रवेश प्रक्रियालाई प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

बिहीबार चितवन क्षेत्र नं. १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल र निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले ई-टिकटिङ प्रणालीको उद्घाटन गरेका हुन् ।

वरिष्ठ संरक्षण अधिकृत पुनका अनुसार निकुञ्जमा ई–टिकटिङ प्रणाली लागू गर्न लामो समयदेखि प्रयास हुँदै आएको थियो । शिवपुरी राष्ट्रिय निकुञ्जमा विद्युतीय टिकट प्रणाली सुरु भएपछि चितवनमा पनि यसको आवश्यकता थप महसुस गरिएको उनले बताए । 

चितवन राष्ट्रिय निकुञ्जको कुल राजस्वमध्ये करिब ७० देखि ७५ प्रतिशत सौराहा क्षेत्रबाट सङ्कलन हुने र अधिकांश पर्यटक पनि यही क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने भएकाले पहिलो चरणमा सौराहाबाट सेवा सुरु गरिएको उनको भनाइ छ । नयाँ प्रणाली प्रयोग गर्न पर्यटकले आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि क्यूआर कोड प्राप्त गर्नेछन् । 

उक्त कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ । प्रणाली प्रयोग गर्ने तरिकाबारे जानकारी दिन निकुञ्जको आधिकारिक फेसबुक पेज र वेबसाइटमा ट्युटोरियलसमेत राखिने पुनले जानकारी दिए ।

सांसद ढकालले पर्यटन व्यवसायी र आफ्नो निरन्तरको पहलपछि सौराहामा ई-टिकटिङ प्रणाली सुरु गर्न सम्भव भएको बताए । दोस्रो कार्यकालको पदभार सम्हालेपछि पछिल्लो छ महिनादेखि यस विषयमा नियमित पहल गर्दै आएको उनले उल्लेख गरे ।

प्रविधिमा आधारित नयाँ प्रणाली सुरु गर्दा प्रारम्भिक चरणमा केही अन्योल र प्राविधिक समस्या आउन सक्ने भएकाले तिनलाई समाधान गर्दै प्रणालीलाई व्यवस्थित र व्यावहारिक बनाउनुपर्नेमा उनले जोड दिए । पर्यटक तथा पर्यटन व्यवसायीका सुझाव समेटेर प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

टिकटिङ प्रणालीमा पर्यटन व्यवसायीको संरक्षणप्रतिको योगदान र प्रतिबद्धता झल्किने विवरणसमेत समावेश गर्न सके स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्न सकिने उनले बताए ।

साथै, निकुञ्ज प्रवेशका लागि काटिएको टिकट हाल एक दिनका लागि मात्र मान्य हुने व्यवस्था परिवर्तन गरी तीन दिनसम्म प्रयोग गर्न मिल्ने बनाउन पहल भइरहेको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जमा सौराहा, कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायतका नाकाबाट पर्यटक प्रवेश गर्छन् । निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिप सञ्चालनमा रहेको निकुञ्जले जनाएको छ ।

एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्तीलगायतका वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक चितवन पुग्ने गर्छन् । निकुञ्ज कार्यालयका अनुसार प्रवेश शुल्क नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकका लागि दुई हजार रुपैयाँ रहेको छ ।

पर्यटक बोक्ने जिपले निकुञ्जमा एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ । ई-टिकटिङ प्रणालीमार्फत आवश्यक विवरण भरेर प्रक्रिया पूरा गरेपछि प्राप्त हुने क्यूआर कोड देखाएर प्रवेश गर्न सकिनेछ ।

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनमा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या दुई लाख ३१ हजार ३२९ थियो । यसअनुसार एक वर्षमा पर्यटकको सङ्ख्या ४१ हजार ५९४ ले बढेको छ ।

निकुञ्जले गत आर्थिक वर्षमा पर्यापर्यटनबाट २७ करोड ६३ लाख ३९ हजार ९५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । पर्यटकको बढ्दो आवागमनलाई व्यवस्थित गर्दै टिकट खरिद र प्रवेश प्रक्रियालाई सहज बनाउन सुरु गरिएको ई-टिकटिङ प्रणाली आगामी दिनमा अन्य प्रवेश नाकामा समेत विस्तार गरिने अपेक्षा गरिएको छ ।